८ बैशाख २०८१, शनिबार
Follow Us

तरुण पदाधिकारीको लिस्ट मध्य रातमा टाँसिने

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७३, सोमबार ०८:४४

पोखरा । गत शनिबारदेखि पोखरामा सुरु भएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको अधिवेशन लगभग सम्पन्न भएको नेताहरुले संकेत गरेका छन् । पद नपाउने सम्भावना भएका केही नेताहरु अधिवेशन लोकतान्त्रिक विधिबाट निर्वाचन हुनुपर्छ भनेर अधिवेशनस्थल वरपर घुमिरहेका छन् भने प्रतिनिधिहरु घुमघाम र नाँचगानमा रमाएका छन् । यता निर्देशन समितिले पदाधिकारीको टुंगो लगाए पनि केन्द्रीय समितिमा तीनै नेताहरुको भागवण्डा मिलाउन व्यस्त छ ।
निर्देशन समितिका संयोजक बालकृष्ण खाँण पोखराको बुढानीलकण्ठमा केन्दीय समितिले मनोनित गर्ने २० जनाको नाम फाइनल गर्दैछ भने केन्द्रीय समितिका पदाधिकारीहरुको टुंगो हिजै साँझ लगाइसकेको छ । जीतजंग बस्नेतको नेतृत्वमा रहने तरुण दलको उपाध्यक्षमा पौडेल पक्षका भूपेन्द्रजंग शाही, महासचिव बीपी कोइरालाका नाती सिद्धार्थ कोइराला र कोषाध्यक्षमा सिटौला पक्षकी गोमा केसीलाई ल्याइने भएको छ । विधान संशोधन गरेर प्रदेशअनुसार सबैलाई भाग पु-याइने सहमति बनेको छ ।
शीर्ष नेताहरु निर्देशन समितिको बैठकमा संलग्न छन् । सबैले आ–आफ्ना मान्छेलाई कुन पद दिने भनेर पोखराको बुढानीलकण्ठमा गोप्य बैठकमा संलग्न छ । त्यहाँ शीर्ष नेताहरुबाहेक कसैलाई छिर्न दिइएको छैन । घमाइलो पोखरामा तरुण दलका कार्यकर्ताहरु भने घुम्न र गाना बजानामा रमाइरहेका छन् । साँझसम्म अधिवेशनलाई औपचारिकता दिने र मध्यरातमा तरुण दलको नेतृत्वको नामावली टाँस गर्ने योजना बनेको छ ।

हिजोको बन्दसत्रमा प्रतिवेदनमाथि बोल्ने प्रतिनिधिले २१ औँ शताब्दीको परिवर्तित एवम् विकसित समाजको मागअनुरुप देशको आर्थिक एवम् सामाजिक विकासका लागि योगदान गर्नसक्ने किसिमको तरुण नेतृत्व आवश्यक भएकामा जोड दिएको काफ्लेले बताउनुभयो । महाधिवेशनको कार्यक्रम अन्तर्गत आज निर्वाचनको कार्यक्रम हुने उल्लेख गरिए पनि अहिलेसम्म निर्वाचनको कुनै प्रक्रिया बढेको छैन ।

निर्वाचन समितिलाई निर्वाचनमा सहभागी हुने प्रतिनिधिको नामावली प्राप्त नभएका कारण निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न नसकिएको निर्वाचन अधिकृत विश्व घिमिरेले जानकारी दिनुभयो । तरुण दलको नेतृत्व सर्वसम्मत बनाउन पार्टी नेतृत्वमा छलफल जारी रहेका कारण पनि बन्दसत्र एवम् निर्वाचन प्रक्रिया सुरु हुन नसकेको जनाइएको छ ।

यसैबीच, आजै उत्तमकुमार चापागाईं नेतृत्वको समूहले एक पत्रकार सम्मेलन गरी सर्वसम्मतको नाममा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार नेतृत्व चयन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने प्रयास भइरहेको जनाएको छ । पत्रकार सम्मेलनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका चापागाईंले विधि र प्रक्रियाअनुसार नेतृत्व चयन गराउन तत्काल निर्वाचनको प्रक्रिया थाल्न आग्रह पनि गर्नुभयो ।