१३ बैशाख २०८१, बिहीबार
Follow Us

सांसद पाण्डेको निधन

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७३, सोमबार ०९:३२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विगत एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा आज बिहान निधन भएको हो ।

पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि भोलि (मङ्गलबार) बिहान ९ देखि ११ बजेसम्म नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ ।

माओवादीभित्र चाचा उपनामले चिनिने पाण्डेले माओवादीको सशस्त्र सङ्घर्षको आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगट्ठा र अन्य युद्ध सामग्री भित्र्याउनुभएको थियो । पाण्डे सानैदेखि विद्रोही स्वभावका हुनुहुन्थ्यो र त्यही विद्रोही स्वाभावकै कारण उहाँ १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बन्नुभएको थियो ।

नेकपा (पुष्पलाल समूह), नेकपा माले हुँदै २०४० सालमा मोहनविक्रम सिंहको मसालमा प्रवेश गर्नुभएका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोड्नुभयो ।

नेकपा मसालले माओवादी जनयुद्धको चर्को विरोध गरेपछि दीनानाथ शर्माको नेतृत्वमा विद्रोह गरेर पार्टी गठन गरी तत्कालीन नेकपा माओवादीसँग उहाँले एकता गर्नुभयो । पार्टीभित्र चर्को अन्तरविरोध हुँदा पनि पुष्पकमल दाहाल र बाबुराम भट्टराई दुवैले अत्यन्तै विश्वास गर्ने थोरैमध्येको एउटा पात्र हुनुहुन्थ्यो । पार्टीभित्र उहाँको छवि सधैँ इमान्दार, निडर र क्रान्तिकारी योद्धाका रुपमा रहेको थियो ।

पाण्डेका एक छोरा, दुई छोरी हुनुहुन्छ । विसं २०६४ को संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट प्रतिस्पर्धा र झिनो मतले पराजित सांसद पाण्डे २०७० मा संविधान सभामा एनेकपा (माओवादी) को तर्फबाट समानुपातिक तर्फबाट सांसद बन्नुभएको हो । हाल व्यवस्थापिका–संसद्मा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सदस्य रहनुभएका पाण्डेको पुस्तक ‘आत्मकथा’ (प्रकाशोन्मुख) रहेको छ ।