७ बैशाख २०८१, शुक्रबार
Follow Us

बागलुङ नगरपालिकामा उद्योग ग्राम बन्ने

sarusaru
१९ कार्तिक २०७६, मंगलवार ११:१५

बागलुङ, – बागलुङ नगरपालिकामा उद्योग ग्राम स्थापना हुने भएको छ । नेपाल सरकारले उद्योग ग्राम स्थापनाका लागि सिफारिस गरेको सार्वजनिक जग्गा स्वीकृत गरेसँगै उद्योग ग्राम स्थापनाको बाटो खुलेको हो । नेपाल सरकारले देशभरका सबै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने नीति बनाएर पालिकाहरुका लागि प्रस्ताव आव्हान गरेको थियो । बागलुङ नगरपालिकाले सम्भावित जग्गाको अध्ययन गरी प्रदेश सरकारलाई जग्गाको विवरण पेश गरेको थियो । गण्डकी प्रदेशको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जग्गाको बाटो फुकाएको हो । तीनै तहका सरकारको सहकार्यमा उद्योग ग्राम स्थापना गर्ने नीति सरकारले लिएको छ । नगर, प्रदेश र केन्द्रको निर्णय अनुसार बागलुङ–१३ कालाखोला बगरमा औद्योगिक ग्राम स्थापना गर्ने बाटो खुलेको नगर प्रमुख जनकराज पौलले बताए ।
प्रस्तावित ठाउँमा औद्योगिक ग्राम बनाउन उपयुक्त भए नभएको बुझ्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वन मन्त्रालयलाई पत्राचार गरेको छ । वातावरणीय अध्ययन गरेर सकरात्मक पाईएमा बिस्तृत परियोजना प्रस्तावको काम अघि बढ्ने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए । ‘तीनै तहका सरकारको सहकार्यमा उद्योग ग्राम निर्माण गर्दै छौं’ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले भने ‘जग्गा स्वीकृत भयो अव डिपिआरको काम अघि बढ्छ ।’ उद्योग ग्राम स्थापना हुने क्षेत्रमा सडक, बिद्युत, फोहोर व्यवस्थापन, खानेपानी लगायतका पुर्वाधारको निर्माण सरकारले गर्ने मन्त्री लम्सालले बताए । ‘चालु बर्षकै कार्यक्रममा बजेट छ केन्द्र र स्थानीय तहले पनि बजेटको व्यवस्था गरेका छन्’ लम्सालले भने ‘व्यवसायीको हितका लागि उद्योगग्राम उपयोगी हुने छ ।’ न्युनतम शुल्क लिएर व्यवसाय सञ्चालन गर्न चाहनेहरुका लागि जग्गा उपलव्ध गराईने उनले बताए । उद्योग ग्राम सञ्चालन कार्यबिधि बनाएर त्यसको परिचालन हुने छ ।
बागलुङ नगरपालिकाभित्र रहेका उद्योगधन्दा तथा कलकारखानालाई एकीकृत रूपमा औद्योगिक ग्राम निर्माण गरेर स्थापना गर्न नगरले करिब ८५ रोपनी तयार पारेको नगरप्रमुख जनकराज पौडेलले बताए । बागलुङ नगरपालिकाभित्र अहिलेसम्म औद्योगिक ग्राम नहुँदा जताततै अव्यस्थित रूपमा उद्योग तथा कलकारखाना सञ्चालन हुँदै आएका छन् । ‘अब उद्योगहरु एकीकृत हुन्छन’ पौडेलले भने ‘आवश्यक पूर्वाधार निर्माणको काम तत्काल थाल्छौं ।’ उद्योग ग्राम स्थापनाका लागि नगरपालिकाले लामो समय खर्चेर सार्वजनिक जग्गाको अध्ययन गरेको थियो । ठुलो परिणाममा आवश्यक पर्ने जग्गा प्राप्तीका लागि गरेको मेहनत समेत उद्योग ग्राम बन्ने पक्का भएपछि काम लागेको पौडेलले प्रतिक्रिया दिए । बागलुङकै ताराखोला गाउँपालिकाले पनि उद्योग ग्राम निर्माणका लागि सार्वजनिक जग्गाको विवरण प्रदेश सरकारलाई पठाएको थियो । ताराखोला गाउँपालिकामा स्थापना हुने उद्योग ग्रामको बिषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन भैरको जनाएको छ । सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने भनिएको भएपनि बागलुङका दुईवटा पालिकाले मात्रै जग्गाको विवरण उपलव्ध गराएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।
जनमञ्च