७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकाद्वारा नेपाल आतंकवादको खत्तरामा रहेको दावी

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७६, मंगलवार १५:५३

काठमाडौं । अमेरिकाले नेपाल आतंकवादको खत्तरामा रहेको दावी गरेको छ । अमेरिकी विदेश मन्त्रालयको एक प्रतिवेदनमा नेपाल अन्तरराष्ट्रिय आतंकवादीको ट्रान्जिट र आश्रयस्थल बन्न सक्ने दावी गरिएको हो । प्रतिवेदनमा यसअघि पनि नेपाल आतंकवादीको आश्रयस्थल रहँदै आएको र भविष्यमा पनि रहिरहन सक्ने जिकिर गरिएको छ ।

भारतसँगको खुल्ला सीमाना र एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा रहेका कारण नेपाल आतंकवादीको ट्रान्जिट रहेको उल्लेख छ । प्रतिवेदनमा विमानस्थल क्षेत्रमा यात्रुहरुको सुरक्षा जाँच गर्ने मानवीय प्रणालीलाई ‘औपचारिक तथा प्रक्रियागत’ भनेको छ । त्यस्तै, कागजी वस्तुको सुरक्षा जाँचका लागि विकिरणयुक्त उपकरणसमेत नभएकोमा प्रतिवेदनले आपत्ति जनाएको छ । उसले नेपाल प्रहरीको विशेष ब्यूरोले करिब १० जनालाई विमानस्थलमा खटाउने गरेको भन्दै यो संख्या विमानस्थलको सुरक्षाका लागि निकै कम भएको जिकिर गरेको छ ।

इन्टरपोलका सुचनासमेत नियमित स्क्रिन नगरिने उसको दावी छ । अमेरिकाले त्यहाँबाट सूचना माँग्दा पनि कर्मचारीले रेस्पोन्स गर्ने गरेको तर पर्याप्त सूचना दिनसक्ने अवस्थामा रहने नगरेको प्रतिवेदनमा लेखिएको छ । त्यस्तै, नेपालको भारत सीमानामा थोरै चेक प्वाइन्टहरु भएको र पर्याप्त सुरक्षा नियन्त्रण नभएको अमेरिकाको दावी छ ।

सीमा सुरक्षामा स्रोत साधनको अभाव रहेको र जनशक्तिले पर्याप्त तालिम नपाएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले विप्लव माओवादीप्रति पनि चासो व्यक्त गरेको छ । त्यसबाहेक इन्डियन मुजाहिद्दिनले नेपालको जमिन पनि प्रयोग गर्ने गरेको अमेरिकी प्रतिवेदनले जनाएको छ ।