१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उपनिर्वाचनको उम्मेदवारी दर्ता भोलि

sarusaru
२० कार्तिक २०७६, बुधबार ०३:३४

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदहरूमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगले सम्बद्ध जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन हुने जनाएको छ ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले उम्मेदवारी दर्ताको समय बिहीबार बिहान १० देखि अपराह्न १ बजेसम्म तोकिएको बताए । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ भक्तपुर १(१), बाग्लुङ २(२) र दाङ ३(२) क्षेत्रमा निर्वाचन हुँदै छ ।

रिक्त स्थानमा उम्मेदवारी दिनेले नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम भएको प्रमाण तथा राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नेले सम्बद्ध दलबाट प्राप्त औपचारिक पत्र मनोनयनपत्रसँगै बुझाउनुपर्नेछ । प्रतिनिधिसभाको उम्मेदवारले १० हजार र प्रदेशसभाको उम्मेदवारले ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । प्रवक्ता श्रेष्ठका अनुसार मतदानमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी ल्याउने उम्मेदवारले मात्र धरौटी फिर्ता पाउनेछन् ।

उम्मेदवारले सम्बन्धित निर्वाचन क्षेत्रका मतदातामध्येबाट एक/एक जना प्रस्तावक र समर्थकसमेत राख्नुपर्छ । एक व्यक्ति एक उम्मेदवारको मात्र प्रस्तावक र समर्थक बस्न पाउँछन् । मनोनयन फारममा उम्मेदवारले आफ्नो सम्पत्तिको स्वघोषणासमेत गर्नुपर्ने श्रेष्ठले बताए ।

मंसिर १४ मै स्थानीय तहका रिक्त स्थानको पनि उपनिर्वाचन हुँदै छ । उक्त तहको उम्मेदवारी मनोनयन कात्तिक २७ मा हुनेछ ।

विवेकशील र साझाका उम्मेदवार तय
विवेकशील नेपाली दल र साझा पार्टीले उम्मेदवार तय गरेका छन् । विवेकशीलले कास्की–२ मा मंगलबार जमुना शर्मालाई उम्मेदवार बनाएको छ । दलका अध्यक्ष मिलन पाण्डेले मंगलबार कास्कीबाट शर्मालाई उम्मेदवार बनाएको घोषणा गरेका हुन् ।

विवेकशीलले बाग्लुङ २ को प्रदेशसभामा सन्तोष भण्डारीलाई उम्मेदवार बनाएको छ । यही क्षेत्रका लागि अर्को दल साझा पार्टीले यसअघि नै रजनी केसीलाई उम्मेदवारका रूपमा अघि सारिसकेको छ ।
कान्तिपुर