१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने प्रचण्डको भनाइ

sarusaru
२० कार्तिक २०७६, बुधबार ०४:११

दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् । राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने उनकाे भनाइ छ ।

‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास छ’, दाङमा बुधबार बिहान सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘ मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइकाे थिएँ र भोलि पनि गर्नेछु । ’

प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताउँदै प्रचण्डले अगाडि थपे, ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भई नै राखेको छ ।’ दाङ पुग्दा आफूलाई न्यानो अनुभूति हुने गरेको भन्दै प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गरे ।

हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल छ । प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल दाङबासी हुन् । तर, प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै दाङबासीले नेताहरुको आलोचना गर्दै आएका छन् ।

उपनिर्वाचनतिर सरकारको ध्यान गएको भन्दै उनले चुनाव सफल बनाउनुपर्ने बताए । ‘उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ’, उनले भने, ‘सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’ प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिलाई लिएर अनेक क्रिया–प्रतिक्रिया उब्जिरहेका बेला उनले यसलाई स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे ।
अनलाइनखबर