१५ चैत्र २०८०, बिहीबार
Follow Us

पर्यटन बोर्डको सीईओ दिपक जोशीलाई हटाउने सरकारको तयारी

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७६, बिहीबार १९:४८

लन्डन । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिको लिगलिगे दौड सुरु भएको छ। पर्यटन बोर्डका सीईओ दीपकराज जोशीको कार्यकाल २०७६ पुस ७ मा सकिने भएकाले नयाँ सीईओ नियुक्ति हुने दौड सुरु भएको हो।

जोशीको ४ बर्षे कार्यकाल सकिएपछि उनी पुनः नवीकरण भएर आउन खोजिरहेका छन्। पुनः एक कार्यकाल सीईओ हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका निकटहरुसँग उनले लबिङ गरिरहेका छन् भिजिट एयर २०२० मा २० लाख पर्यटक भित्र्याउने प्रतिबद्धता पर्यटन मन्त्रालयको छ। तर बोर्डको नेतृत्व मन्त्री भट्टराईको स्पीरिट अनुसार नभएको महसुस उनले गरिरहेका छन्। उनी पुनः विज्ञापन गरी नयाँ ब्यक्तिलाई जिम्मेवारी दिने सोचमा रहेको बताइन्छ। जोशी मन्त्री योगेश भट्टराई सहित लन्डन भ्रमणमा छन् ।

जोशी जनसम्पर्कमा नरहने अन्तरमुखी स्वभावका छन्। उनी कसैको फोन समेत रिसिभ गर्दैनन्। जो मन्त्री हुन्छ उसको सचिवालयका कर्मचारीसँग नजिक रहँदै सत्तारुढ दलका पर्यटन हेर्ने नेताहरुले भने अनुसारका बोर्डका काम दिनेमै उनी सीमित छन्। उनले पुनः नवीकरण हुनका लागि मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईकी श्रीमती भूमिका पौडेललाई पर्यटन बोर्डमा जागिर लगाइदिएका छन्।

मन्त्री भट्टराईका निजी सचिव दीपक थापा र प्रेम गुरागाईंमार्फत् उनी मन्त्री भट्टराईलाई प्रभावमा पारी सीइओमा निरन्तरता पाउन खोजिरहेका छन्।

मन्त्री भट्टराईले बोर्डमा नयाँ नेतृत्व ल्याउन खोजिरहेको बेला जोशी भने भिजिट नेपाल २०२० सफल बनाउन पनि आफूलाई एक कार्यकाल नवीकरण गर्न आग्रह गरिरहेका छन्। बोर्डको आर्थिक बर्ष २०७६–०७७ मा छुट्याइएको डेढ अर्ब बजेटमा पर्यटन प्रबद्र्धनका नाममा २० प्रतिशत नै चलखेल गर्न पाउँदा पनि करोडौं कमाइ हुने भएपछि जोशी जसरी पनि निरन्तरता पाउन साम दाम नै प्रयोग गरी लागेको आरोप छ। सीइओ हुनका लागि उनले पर्यटन क्षेत्रका बिचौलियाहरुसमेत परिचालन गरेको पर्यटन व्यवसायीहरु बताउने गरेको हाम्राकुराले समाचार छापेको छ ।