१५ चैत्र २०८०, बिहीबार
Follow Us

आज हरिवोधनी एकादशी

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार ०३:५१

काठमाडौं । कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने विश्वास सहित विशेष पूजा गरिन्छ ।

हरिशयनी एकादशीका दिन घरको मठमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीका दिन भगवान् विष्णुसँग विवाह गरिदिने प्रचलन रहेको छ । यसैले यो दिनलाई तुलसी विवाह पनि भन्ने गरिन्छ । असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास भनिन्छ । हरिबोधनी एकादशीका दिन मुलकभरका विष्णु मन्दिर तथा त्रिवेणीमा विशेष मेला लाग्दछ ।

भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौँको शेषनारायण र इचङ्गु नारायणको पूजा गरी एकादशीव्रत बसेमा पुण्य प्राप्त हुने जनविश्वासले यी विभिन्न धाममा श्रद्धालुको घुँइचो लाग्ने गरेको छ । बूढानीलकण्ठमा पनि यो एकादशीदेखी सुरु भएर कात्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्दछ ।यस्तै,इलामको माईपोखरीमा पनि ठुलो मेला लाग्दछ ।