१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली सेनाद्वारा जाजरकोट–डोल्पा सडक हस्तान्तरण

sarusaru
२२ कार्तिक २०७६, शुक्रबार ०४:३३

ट्रयाक खोलेको एक वर्षपछि जाजरकोट डोल्पा सडक औपचारिकरुपमा सडक विभागलाई हस्तान्तरण गरिएको छ।

सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण घ गुल्ममा औपचारिक कार्यक्रम गरेर नेपाली सेनाले जाजरकोट डोल्पा–सडक सडक विभागलाई हस्तान्तरण गरेको हो।

जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११८ किलोमिटर सडकको ट्रयाक खोलेर ०७५ मङ्सिर ४ गते औपचारिक उद्घाटन गरिएको जाजरकोट डोल्पा सडक एक वर्षपछि बिहीबार हस्तान्तरण भएको छ।

नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले सडक डिभिजन कार्यालय चौरजहारीका उपप्रमुख नरेन्द्रप्रसाद भट्टलाई हस्तान्तरण गरेका हुन्।

कठिन भौगोलिक चुनौतीका बाबजुत पनि नेपाली सेनाको अहोरात्र खटाइलेमात्र १४ वर्षपछि डोल्पासम्म सडक पुर्‍याउन सफल भएको जाजरकोट डोल्पा सडक निर्माणका कार्यदल प्रमुख पहाडीले जानकारी दिए।

कार्यदल प्रमुख पहाडीले सडक निर्माणका क्रममा सहयोग गरेको भन्दै डोल्पाली जनता, राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन, नागरिक समाज, सञ्चारकर्मी सबैलाई आभार प्रकट गरे ।

त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सेनाले गरेको कामको प्रशंसा गर्दै आगामी आर्थिक वर्षभित्र जाजरकोट डोल्पा सडकखण्डमा पर्ने खदाङस्थित भेरी नदीमाथि र त्रिपुराकोट बगरस्थित भेरीनदी गरी दुई वटा बेलिब्रिज निर्माण गरिने बताए।

देशका ७७ वटै जिल्लामा कालोपत्रेसहितको सडक पुर्‍याउने सरकारको लक्ष्य रहेकाले अबको दुई वर्षभित्रै सडक स्तरोन्नतिको काम शुरु गरिनेसमेत सचिव कार्कीले बताए।

एक वर्ष अघि निर्माण कार्य सम्पन्न गरेको जाजरकोट–डोल्पा सडक र निर्माणाधीन दुनै–मोरिम्ला सडकको समेत सेनाको हेलिकप्टरबाट अनुगमन गरिएको छ।
सेतोपाटी