१५ बैशाख २०८१, शनिबार
Follow Us

‘गो व्याक इण्डिया’ को नारासहित विद्यार्थी सडकमा

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार ०६:३८

काठमाडौं । लिपुलेकसहितको नेपाली भूभाग भारतले हडप्न खोजेर आफ्नो नक्सामा राखेको भन्दै शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघको अगुवाईमा काठमाडौंमा विरोध प्रदर्शन भएको हो । उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद्, सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, गो व्याक इण्डिया जस्ता नारा लगाएका छन् ।

यता, भारतले नेपालको भूमि समेत आफ्नो सीमाभित्र पारेर नक्सा सार्वजनिक गरेको विरोधमा नेपालगञ्जमा प्रदर्शन भएको छ । विद्यार्थीहरुले नेपालको कालापानी, लिपुलेक लगायतको भूभाग आफ्नो सीमामा राखेर केही दिनअघि सार्वजनिक गरेको नक्सा सच्याउन माग गर्दै आज विहान प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुको प्रदर्शन नेपालगन्जको वीपीचोकबाट शुरुभई वीरेन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोण सभामा सहभागी विद्यार्थीहरुले भारतीय हस्तक्षेपवारे कुटनीतिक रुपमा कुरा अघि बढाउन समेत माग गरेका छन् ।

त्यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताएका छन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा उनले मुलुकको एक इञ्च पनि सीमा मिच्न नदिइने बताए ।
भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाए उल्लेख गर्दै उनले भने, ‘कालापानी हाम्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइनेछ । मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्न दिइने छैन ।’