१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सिमा रक्षाको लागि एक हुन गैरआवासीय नेपाली संघको आव्हान


२२ कार्तिक २०७६, शुक्रबार १३:४१

लण्डन । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग समेटिए पछि विदेशमा बस्ने गैरआवासीय नेपालीहरु समेत क्षुब्द भएका छन् । भारतले सार्वजानिक गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति विभिन्न देशमा बस्ने नेपालीहरु समेत भारतीय कदम बिरुद्ध तरंगित भएका छन् ।

यसै बीच बिदेशमा रहेका नेपालीहरुको साँझ संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विहीवार एक विज्ञप्ति जारी गर्दै भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष कुमार पन्तद्धारा जारी विज्ञप्तिमा भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएको बताएको छ ।


विज्ञप्तिमा, दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षाको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गरिएको छ ।
संघले, मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो । तसर्थ, अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध रहेको जनाएको छ ।