७ बैशाख २०८१, शुक्रबार
Follow Us

भुटानी मोडल स्वीकारे पूर्वराजाले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार ०५:४६

काठमाडौं । संविधान कार्यान्वयनका लागि प्रमुख दल र मधेसी दलबीच सहमति जुट्नै लागेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर भ्रमणमा निस्केका छन् । बुहारी हिमानी सिंह र निजी सचिव सागर तिमिल्सेनालाई लिएर गत बुधबार सिंगापुर पुगेका पूर्वराजा शाहको भ्रमणलाई रहस्यमय मानिएको छ ।
संविधान कार्यान्वयनमा प्रमुख दल र मधेसी दलबीच सहमति बन्यो भने राजतन्त्र पुनर्बहालीको अभियानमा ठूलो अवरोध आउने निष्कर्षका साथ पूर्वराजा शाह सिंगापुर भ्रमणमा गएको समाचार स्रोतले जनाएको छ । भारतलाई प्रयोग गरेर ठूला दल र मधेसी दलबीचको सम्भावित सहमति भाँड्नु नै भ्रमणको उद्देश्य रहेको निर्मल निवास स्रोतले जनाएको छ । स्रोतका अनुसार सिंगापुरमा पूर्वराजा शाहसँग भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधिको भेटघाटको व्यवस्था मिलाइएको राजावादीहरूले प्रचारमा ल्याएका छन् । ‘रअ’ का प्रतिनिधिसँगको भेट सकारात्मक भयो भने पूर्वराजा शाह सिंगापुरबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सिधै दिल्ली जाने उनीहरूको दावी छ ।
भारतीय जनता पार्टी राजतन्त्र पुनस्र्थापनामा सहयोग गर्न सकारात्मक छ, तर गुप्तचार संस्था ‘रअ’ ले केही सर्त राखेका कारण भारतीय प्रधानमन्त्री मोदी अन्योलमा छन् भन्ने बुझाई राजावादीहरूको छ । भुटानको मोडेलमा जान पूर्वराजा र प्रमुख दलमध्ये जो तयार हुन्छन्, उसैलाई सहयोग गर्नुपर्ने रणनीतिमा भारतको गुप्तचर संस्था ‘रअ’ पुगेको राजावादीहरूको भनाई छ । भुटानी मोडेल स्वीकार गर्न पूर्वराजा शाह पहिले नै तयार भइसकेको राजावादीहरू बताउँछन् ।