१३ बैशाख २०८१, बिहीबार
Follow Us

सर्वदलीय बैठक ४ बजे, को–को सहभागी हुँदैछन ?

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७६, शनिबार ०५:३२

काठमाडौं । भारतले गत अक्टुबर ३१ मा सार्वजनिक गरेको राजनीतिक नक्साले नेपाललाई पुनः एकपटक सरकारीस्तरमै झस्काएको छ । नेपाली भूमि कालापानी र लिपुलेक आफ्नो भू–भागमा पारेपछि नेपाल झस्केको हो । यसको नेपालले राष्ट्रिय सहमतिका आधारमा प्रतिवाद गर्ने रणनीति बनाउने भएको छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे सर्वदलीय बैठक आह्वान बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा संघीय संसद र प्रदेश संसदमा रहेका सवै दलका शीर्ष नेतासहित पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सीमाविद तथा परराष्ट्रविदलाई आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमति कायम गरी भारतलाई आफ्नो गलत काम सच्याउन नेपालको तर्फबाट औपचारिक प्रस्ताव गर्ने भएको छ । मिचिएको सीमा फिर्ता गराउन नेपालको एकमत बनाउन यो बैठक बोलाइएको हो, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले भने, ‘नेपाली भूमि कालापानी क्षेत्र समेट्ने गरी भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि सरकार राष्ट्रिय धारणा बनाएर अघि बढ्ने तयारीमा लागेको हो ।’

सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्रीहरूसहितलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रविद्, सीमाविद्, विभिन्न राजनीतिक दलका नेताहरू, नापी विभागका महानिर्देशकलगायतलाई पनि बैठकमा डाकिएको छ । नापी विभागले प्रस्तुत गर्ने नक्सा, तथ्य–प्रमाणका आधारमा छलफल गर्ने र सुझाबसहितको निष्कर्षका आधारमा भारतसँग संवाद अघि बढाउने बताइएको छ ।