१३ बैशाख २०८१, बिहीबार
Follow Us

मेलम्चीको बाँकी काम सुरु

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७६, शनिबार १३:३८

काठमाडौं । आगामी असार मसान्तभित्र काठमाडौं उपत्यकामा पानी खसाल्ने गरी मेलम्ची खानेपानी आयोजनाको रोकिएको काम पुन सुचारु भएको छ । चिनिया ठेकेदार कम्पनीले यही हप्तावाट सुरुङ र हेडबक्सको बाँकी काम अघि बढाएको हो ।

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरु गरेसँगै तत्कालका लागि अन्योल हटेको छ । कम्पनीले ५० जना चिनियाँ र एक सय जना नेपाली कामदारबाट काम सुरु गरी सकेको छ । कम्पनीले आउदो असार मसान्तभित्र पानी सुन्दरीजल खसाल्ले योजनाका साथ हप्ता दिन भित्र थप एक सय कामदार थपेर दुई सिफ्टमा काम गर्ने भएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नयाँ ठेकेदार नियुक्त भएपछि शुरु भएको कामको हालै अनुगमन गरेको छ । सो क्रममा सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुले मेलम्ची, सिन्धु र हेलम्वुका समस्या समाधान नभए आयोेजनामा अवरोध हुनसक्ने चेतावनी दिएका छन् ।

संसदको विकास तथा प्रविधि समितिले पनि काठमाडौंबासीको सपनाको रुपमा रहेको मेलम्ची खानेपानीको काम समयमा सक्न स्थानीयका माग सम्बोधन गर्नए सरकारको ध्यानाकर्षण गराएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले भने स्थानीयो मागलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको भन्दै खानेपानी आयोजनामा देखिएका समस्या समाधान गरी छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले मिति नै घोषणा गरेर काम सुरु गरेपनि मेलम्चीको पानी अबको छ महिनामा काठमाडौं आउने बताइएको छ । तर पुरानो ठेकेदार कम्पनी सीएमसीसँग काम गरेका स्थानीय सप्लायर्सले भने बाँकी रकम भुक्तानी नगरे आयोजनको काम रोक्ने चेतावनी दिएका छन् ।

सीएमसीले स्थानीय ठेकेदार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यता, स्थानीयबासी सडक पूर्वाधार निमार्णमा भएको ढिलाईलाई लिएर आक्रोश छन् । उनीहरुले सिन्धुपाल्चोकको पानी काठमाडौं लाने भए रोयल्टी बाँडफाँड, एक घर एक धारा उपलब्ध गराउनु पर्ने लगायतका माग गर्दै आएका छन ।