८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली चलचित्र स्वर्णिम महोत्सव असफल

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०७६, आईतवार ०५:०६

वीरगञ्ज । वीरगञ्जमा तीन दिन सञ्चालन गरिएको नेपाली चलचित्र स्वर्णिम महोत्सव असफल भएको विश्लेषण गरिएको छ । उदघाटनको दिन दर्शकको राम्रो सहभागिता भए पनि दोस्रो र तेस्रो दिनमा महोत्सवमा दर्शकको सहभागिता खासै रहेन । तराई मधेशका नागरिकमा नेपाली चलचित्रप्रति आकर्षण गराउने उद्देश्य सहित महोत्सव आयोजना गरिएको थियो । तर महोत्सवमा सर्वसाधारणलाई उपस्थिति गराउनुभन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्ने तर्फ आयोजक केन्द्रित हुँदा महोत्सव सफल हुन नसकेको हो ।

उदघाटनको दिन दर्शकको राम्रो सहभागिता भएपनि दोस्रो र तेस्रो दिनमा महोत्सवमा दर्शकको सहभागिता उल्लेखनीय रहेन । महोत्सव दैनिक १० ले अबलोकन गर्ने आयोजकको लक्ष्य थियो तर पहिलो दिन तीन हजार र दोस्रो र तेस्रो दिन मुस्किलले एक हजार मानिस मात्रै सहभागि भए ।

एक करोड रुपैयाको लागतमा आयोजना गरिएको महोत्सवमा असी लाख रुपैया विभिन्न दातावाट नै संकलन भएको थियो । आयोजक दर्शकको सहभागिता बढाउन भन्दा रकम उठाउन केन्द्रित हुँदा महोत्सवले राम्रो छाप छाडन नसकेको वीरगञ्जका बासिन्दाको भनाइ छ । महोत्सव आयोजकले भने महोत्सवका लागि खर्च भएका कारण टिकट बिक्री गरेर रकम उठाउने विषय स्वभाविक भएको बताउछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेको र बलिउड कलाकार गोविन्दासम्मको सहभागितामा तीन दिने महोत्सव राम्रोसँग सम्पन्न भएको दावी पनि आयोजकले गरेका छन् । तर व्यवस्थापन पक्षको कमजोरीको कारण महोत्सवमा सहभागी हुन आएका कलाकारले समेत असन्तुष्टि ब्यक्त गरेका छन् ।

नेपाली चलचित्र निर्माण हुन थालेको ५३ वर्ष पूरा भएको अवसरमा प्रदेश नम्बर २ मा विशेष कार्यक्रम आयोजना भएको हो । आयोजकहरूले महोत्सवलाई तराई, पहाड र हिमालको उत्सव भनेपनि त्यो अनुसारका कार्यक्रम भने स्थानीयले देख्न पाएनन् ।