जर्ज सोरोस |

मेरो विश्वासमा, बेलायतले युरोपेली संघमा रहुन्जेल आफ्नो राष्ट्रमा साझा युरो मुद्रा प्रणाली प्रचलनमा नल्याए तापनि युरोपेली साझा बजारबाट प्राप्त गर्न सकिने फाइदा तथा युरोपेली संघका विद्यमान नियम, विनियमबाट यथा सम्भव बहूसंख्यक लाभ उठाएको थियो । यद्यपि यी लाभका थैलाहरु, शायद संयुक्त अधिराज्यलाई पर्याप्त नभएरै होला युरोपेली संघलाई परित्याग गर्ने तीब्र इच्छाबाट जनताहरुलाइ रोक्न सकेनन् कि ?
बेलायतमा जनमत संग्रह हुनु केही महिना पूर्व पटक पटक गरिएको मत सर्वेक्षणको नतिजा अध्ययनले माथिका प्रश्नको उत्तर पाउन सकिन्छ । यसमा मुख्य भूमिका खेलेको थियो युरोपेली आप्रवासी सङ्कट र त्यसले बेलायती जनजीवन माझ जन्माएको ब्रेक्जिट बहस । युरोपभरी राष्ट्रिय सरुवा रोगको रुप लिइ सकेको बिकराल शरणार्थी समस्या र विद्यमान फितलो नियम, कानूनले त्यसलाई नियन्त्रण गर्न नसकेको अवस्थाले नै बहूसंख्यक बेलायतीलाई युरोपेली संघ त्यागगर्ने अप्रिय निर्णय लिनुपर्ने स्थिति तर्फ डो¥याएको पाइयो । यस अतिरिक्त दक्षिणी बेलायतको सीमाक्षेत्र नजिकैको उत्तरी फ्रान्समा पर्ने कालाइस जङगल क्षेत्रलाई लक्ष गरेर अन्य युरोपेली मुलुकबाट समेत प्रबेश गर्न इच्छुकहरुको ओइरो र त्यहाँ पहिलेदेखि आश्रय लिइरहेका हजारौँ शरणार्थीको अन्तिम लक्ष बैध, अबैध अनेक उपायबाट बेलायत प्रबेश गर्नु र बेलायती आप्रवासी बनी शरणार्थी शिबिरमा ढुक्क भएर बस्नु नै भएको कहाली लाग्दो अवस्था बेलायती जनताको टाउको दुखाइको बिषय भएको लामो समय भै सकेको थियो ।
युरोपेली भूमिभित्र शरण स्वीकार गर्ने या नगर्ने बिषयमा युरोपेली संघका सम्बन्धित जिम्मेवार पदाधिकारीहरुले महत्वपूर्ण र उपयुक्त नीति लागू गर्न उदासीन रहेको वा बिलम्ब गरेको कारण बेलायतीलाई युरोपेली संघ त्याग गर्ने जस्तो नकारात्मक निर्णय लिन बाध्य गराउनबाट छल्न सफल नरहेको आङ्कलन गर्न सकिन्छ ।
यहाँनेर अर्को एउटा प्रसङग पनि उल्लेखनीय छ । जर्मनीकी चान्सलर एन्जेला मार्केलले आप्रवासी तथा शरणार्थीका लागि आफ्नो मुलुकको द्वार खुल्ला राखिदिने गरी लिनुभएको निर्णय केही हदसम्म उत्साहजनक संकेत त थियो । तर, राम्ररी बिचार नपु¥याई लिइएको यस्तो निर्णयबाट समग्र युरोपमा के के दूरगामी असर पुग्न सक्छ भन्नेमा बेवास्ता हुन गयो । परिणामस्वरुप एक्कासी उर्लिएको भेल जस्तो शरणार्थीहरुको भार बोक्नु पर्दा युरोप भरी जनताहरुको दैनिक जीवनचर्या नै असहज हुन पुग्यो ।
यस अतिरिक्त, समस्यालाई नियन्त्रण गर्न चालिएका अपर्याप्त कदमले हरेक युरोपेली सामाजिक क्षेत्रस् स्थानीय जनसंख्या, सार्वजनिक सुरक्षामा खटिने प्रमुखहरु तथा स्वयं शरणार्थीहरु माझ एक किसिमको सन्त्रासको वातावरण पैदा ग-यो ।
यस्ता अपर्याप्त कदमले जन्माएका संकटले बिदेशी जनसमुदायसँग त्रस्त रहने वा घृणा गर्ने, युरोप संगठित भएको देख्न नचाहने यु.के. इन्डिपेन्डेन्स पार्टी जस्ता युरोप विरोधी दलहरुलाई बेलायत युरोपेली संघबाट अलग्गिनुपर्छ भन्ने आन्दोलनको नेतृत्व लिने पथ निर्माणमा सघाउ पुग्न गयो । यस आन्दोलन रोक्न युरोपका राष्ट्रिय सरकारहरु वा अन्य अन्तर्राष्ट्रिय संस्थाहरु सक्षम भएनन् ।
परिणामतः जुन कुराको धेरैलाई भय थियो सो सम्भावित बिपत्तिपूर्ण घटनाको कल्पित क्रमले मूर्तरुप लिएरै छाड्यो । युरोपेली संघ अप्रतिवत्र्य रुपले एक पटक चोइटियो । संघ त्यागपश्चात् बेलायत अन्य युरोपेली सहयात्री राष्ट्र सापेक्ष दुर्बल वा बलिष्ठ के हुने हो समयले बताउने नै छ तर यस देशका जनता र अर्थतन्त्रले भने अल्प र मध्यकालिक अनपेक्षित दुःख भोग्न शुरु गरेका छन् । जनमत संग्रहको परिणाम प्रकाशन भए लगत्तै पाउण्डको अवमूल्यन भै बिगत तीन दशक यता पहिलो पटक न्युनतम स्तरमा खस्केको र पाउण्ड प्रभाबी विश्व अर्थ बजारले अधोगति लिई हलचल नै पैदा भएको छ । संघबाट छुट्टिने क्रममा लामो र जटिल राजनीतिक र आर्थिक औपचारिकता पूरागर्न दुई बर्ष लाग्ने हुँदा यस समयावधिमा अर्थ बजारले अधोगति लिई नै रहने अनुमान छ । यसले बेलायतमा सन् २००७ मा परेको आर्थिक संकट सरहको स्थिति पुनरागमन गराउने अडकल गरिएको छ ।
औपचारिकता निभाउने समयावधिमा संघका बाँकी सदस्य राष्ट्रहरुले बेलायतसँग कठोर ब्यवहार गरेमा यसले युरोपभर थप अनिश्चितताको स्थिति मडारिने देखिन्छ । संघका बेलायतसँग आबद्ध थुप्रै परियोजनाहरुको भबिष्य के हुने भन्नेमा द्विबिधा उत्पन्न हुनेछन् । प्रशस्त पानी भरिएको एक बिशाल बाँधको रुपमा रहेको संघबाट बेलायत बहिर्गमन हुनासाथ संघ भित्रकै युरोप विरोधी तत्वहरु सल्बलाई अरु जलद्वार पनि फुट्ने जोखिम देखा पर्नेछन् । उदाहरणार्थः जनमतसंग्रहको परिणाम आए लगत्तै फ्रान्सको नेशनल फ्रन्ट पार्टीले ‘फ्रेक्जिट’ आन्दोलनको आव्हान ग¥यो भने नेदरल्याण्डको डच पपुलिस्ट भनी परिचित नेता गीर्ट वाइल्डर्सले पनि ‘नेक्जिट’ आन्दोलन अघि बढाउन खोजे ।
यसका अतिरिक्त स्वयं बेलायत पनि राष्ट्रिय अखण्डतामा खतराको सामना गर्न बाध्य हुने देखिएको छ । युरोपेली संघमै रहनुपर्छ भन्ने पक्षमा बहूमत ब्यक्तगर्ने स्कटल्याण्ड बेलायती मूलधारमा नरही पुनः छुट्टै स्वतन्त्र राष्ट्रको स्थापना आन्दोलनमा लाग्न सक्छ । संघलाई नै निरन्तरता दिने पक्षमा रहेको उत्तरी आयरल्याण्डका बेलायत बिरोधी राजनीतिक शक्तिले पनि बेलायत अन्तर्गत नरही आयरल्याण्ड (दक्षिणी) मूलधारमा एकिकृत हुने आन्दोलनको आव्हान गरिसकेका छन् ।
युरोपेली संघ यहाँसम्म आईपुग्दा यसले आफूले विश्व राजनीतिमा धेरै फड्को मारेको र विश्वका अन्य शक्ति राष्ट्रहरुलाई पनि समेट्दै एक वलिष्ठ विश्व संस्थामा विकशित हुने सपना बाँडेको थियो । युरोपेली संघले सबैको हितका लागि साझा मूल्य, मान्यता र बजारको रक्षा र प्रबद्र्धन गर्दछ भन्नेमा सदस्य राष्ट्रहरु भरोसा गर्थे । हाल संघ थोरै भए पनि चोइटिदिँदा यसले विशृङ्खलित विखण्डनको गति लिई समष्टिमा युरोपले जुन उन्नति र प्रगति हासील गरेको थियो सो उचाई र बिन्दुबाट निकै तल खस्किई युरोपेली संघ गठन हुनु नै दुर्भाग्य थियो भनी इतिहासलाई सराप्ने अवस्था आउने त होइन भन्नेमा बहूसंख्यक बुद्धिजिवीहरु चिन्तित रहेका छन् । सम्भावित घटनाक्रम जे सुकै भए तापनि हामीले प्रयास त्याग गर्नु सर्वथा उचित छैन । यो स्वीकार्य देखियो कि युरोपेली संघ निर्माण गरिँदा केही त्रुटि भएछन् । युरोपेली संघले सबै सदस्य राष्ट्रका मूल्य र मान्यताको रक्षा गर्दछ भन्नेमा विश्वस्त रहने सबैलाई बेलायतको बहिर्गमनले बिचलित नबनाओस् । संघको मूल्य र सिद्धान्तमा अझ गहिरो आस्था राख्दै एकबद्ध भएर यसको त्रुटिरहित आमूल पुनर्निमाण आन्दोलन अवश्य शुरु गरौँ । म विश्वस्त छु कि यस आन्दोलनमा विशाल जनसहभागिता रहनेछ र बेलायतको बहिर्गमनले ल्याउने परिणाम आगामी केही हप्ता वा महिना भित्रै बिर्सनयोग्य हुनेछ ।

(जर्ज सोरोस ओपन सोसाइटी फाउन्डेशसन तथा सोरोस फण्ड म्यानेजमेन्टका अध्यक्ष हुनुहुन्छ । उहाँ धेरै पुस्तकका लेखक पनि हुनुहुन्छ । उहाँले वित्त बजारसम्बन्धी र सन् २००८ को युरो संकटसम्बन्धी चर्चित पुस्तक लेख्नुभएको छ । अनुवादः एकराज पाठक)
– See more at: http://www.nepalbritain.com/?p=48856#sthash.xWpxKmHN.dpuf