११ बैशाख २०८१, मंगलवार
Follow Us

आर्थिक गणनाको नतिजा सार्वजनिक

sarusaru
२६ कार्तिक २०७६, मंगलवार ०४:३६

बागलुङ – प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक भएको छ । तथ्यांक कार्यालय बागलुङले सोमबार एक कार्यक्रमको आयोजना गरी नतिजा सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक राष्ट्रव्यापी रुपमा आर्थिक गणना भएको थियो । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार बागलुङमा २०७५ जेष्ठ मसान्त सम्म आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान ८ हजार ९ सय २३ पुगेका छन् ।
निजी साझेदारी तथा सरकारी रुपमा स्थापना भएका ती प्रतिष्ठानहरुले ३० हजार ३ सय ७२ जनालाई रोजगारी दिएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जसमध्ये १६ हजार १ सय ५५ जना पुरुष र १४ हजार २ सय १७ जना महिलाले आर्थिक गतिविधि हुने प्रतिष्ठानहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाईरहेको तथ्यांक अधिकृत मुकुन्द शर्मा पौडेलले बताए । सरदरमा बागलुङमा प्रति प्रतिष्ठान ३दशमलब४ जना व्यक्तिले रोजगारीको अवसर प्राप्त गरेको तथ्यांक सार्वजनिक भएको हो । गण्डकी प्रदेशमा रहेका प्रतिष्ठानहरु मध्ये बागलुङमा ८दशमलब ९ प्रतिशत मात्रै प्रतिष्ठान रहेको तथ्यांकमा उल्लेख छ । बागलुङमा सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ५२ प्रतिशत र सबैभन्दा कम बरेङ गाउँपालिकामा २ दशमलब ६ प्रतिशत प्रतिष्ठान स्थापना भएको तथ्यांकमा उल्लेख छ ।
२०७५ साल बैशाख १ गते देखि जेष्ठ मसान्त सम्म गरीएको आर्थिक गणनामा सबै आर्थिक क्रियाकलापका अन्तर्राष्ट्रियस्तर औधोगिक वर्गीकरणमा उल्लेख भएअनुसार नेपालमा सञ्चालन भएका बिभिन्न १८ बिधाका प्रतिष्ठानहरुको गणना गरिएको थियो । कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन्, औधोगिक उत्पादन, विद्युत, ग्यास, वाफ तथा वातानुकुलित आपूर्ति पानी, फोहोर व्यवस्थापन देखि बैज्ञानीक तथा प्राबिधिक कृयाकलाप र कला तथा मनोरञ्जन सम्मका उद्यममा संलग्न प्रतिष्ठानहरु गणनामा समाबेश भएको तथ्यांक कार्यालय बागलुङका प्रमुख मुकन्द शर्माले जानकारी दिए ।
दुई महिना सम्म खटिएका ३८ जना गणकहरुले प्रतिष्ठानको ठेगाना, मुख्य क्रियाकलाप, रोजगार, पूँजी लगानी, ऋणमा पहुँच, रोजगारी, औषत मासिक बिक्रि तथा आम्दानी, औसत मासिक खर्च, तलव ज्याला खर्च आदिको बिबरणहरु संकलन गरेका थिए । सबै विबरणको अधारमा जिल्लाभरीकै आर्थिक गणना भएको र आर्थिक बिकास तथा उद्योग बिकासकालागि उक्त तथ्यांक सहयोगी बन्ने शर्माले बताए ।
नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै बक्ताहरुले परिणाम मुखी हुनुपर्नेमा जोड दिए । तथ्यांक सहि भएमा मात्रै हरेक कृयाकलाप सहि तरीकाले अघि बढ्ने उनीहरुको भनाई थियो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, जिल्ला निर्वाचन अधिकारी बिकासचन्द्र शर्मा, जिल्ला प्रसाशन कार्यालयका प्रशासकीय अधिकृत केशवराज राज शर्मा लगायतले बोलेका थिए ।
जनमञ्च