६ चैत्र २०८०, मंगलवार
Follow Us

भारतसित तत्काल वार्ता थाल्न नेकपाबाटै दबाब

sarusaru
२६ कार्तिक २०७६, मंगलवार ०५:३९

काठमाडौँ — सीमा विवादबारे भारतसँग तत्काल वार्ता गरी टुंगोमा पुग्न प्रधानमन्त्रीमाथि सत्तारूढ दल नेकपाभित्रैबाट दबाब बढेको छ । भारतसमक्ष प्रमाणसहितको दरिलो अडान राख्न नेकपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।

पार्टी एकताका काम टुंग्याउन सोमबार भएको नेकपा सचिवालय बैठकमा कालापानीमा भारतले सीमा मिचेको विषयले प्राथमिकता पाएको थियो । नेताहरूले लामो समयदेखिको विवाद मिलाउने अवसर आएको भन्दै यसलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । भारतीय नाकाबन्दीका बेला लिएको अडानका कारण ओलीको व्यक्तित्व र समग्रमा पार्टीेको उचाइ बढेको सन्दर्भ उल्लेख गर्दै सचिवालयका नेताहरूले अहिले त्यस्तै खालको अर्को अवसर आएको बताए ।

‘सर्वदलीय बैठकमा पनि एक प्रकारको निर्णय भएको छ । कुन तहबाट छलफल गर्दा निष्कर्षमा पुग्छ, त्यही तहबाट वार्ता गरेर अघि बढ्नुहोस्, आवश्यक परेको अवस्थामा प्रधानमन्त्रीकै तहबाट पहल गर्नुहोस्,’ सचिवालयका नेताहरूको भनाइ उद्धृत गर्दै बैठकका एक सहभागीले भने ।

नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले यो विषय सुल्झाउनका लागि थप अग्रसरता लिन ध्यानाकर्षण गराएका थिए । गौतमले ब्रिटिस भारतकै पालामा भएको नक्साका आधारमा छलफल गरी सीमा निर्धारण गर्नुपर्ने धारणा राखेका थिए ।

सरकारले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यमार्फत यो विषयमा कूटनीतिक पहल सुरु गरिएको बताएको छ । तर त्योभन्दा उच्चस्तरबाटै कुराकानी अघि बढाउनुपर्ने नेताहरूको सुझाव थियो ।

सत्तारूढ पार्टीका अन्य तहबाट पनि सरकारमाथि सीमा विवाद छिटो सल्टाउन दबाब बढेको छ । सीमा मिचिएको विरोधमा नेकपाकै विद्यार्थी भ्रातृसंगठन सडकमा प्रदर्शन गरिरहेको छ ।

उसले अतिक्रमणको विरोधमा चर्का नाराबाजीसहित भारतीय राजदूतावास अघि प्रदर्शन गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर सीमा समस्या समाधानमा तदारुकता देखाउन खबरदारी पनि गरेको छ ।

नेकपाकै नीति तथा अनुसन्धान प्रतिष्ठानले पनि सरकारलाई दबाब दिनका लागि सोमबार राजधानीमा सर्वपक्षीय बहस चलायो । वरिष्ठ नेता खनाल नेतृत्वमा रहेको पार्टीको यो विभागको बहसमा अर्का वरिष्ठ नेता नेपाल, गौतम, कांग्रेस नेता रमेश लेखक, नेकपा क्रान्तिकारीका सीपी गजुरेलदेखि राप्रपाका भुवन पाठकसम्मले सरकारलाई छिटो प्रमाणसहित प्रस्तुत हुन सुझाव दिए ।

पूर्वप्रधानमन्त्री खनालले सीमा सुरक्षामा आफ्नै कमजोरीका कारण नेपाल सधैं थिचिने अवस्था आएको बताए । ‘पहिलो पटक नेपालका सबै राजनीतिक पार्टीहरू एउटै मतमा पुगेका छन् । राष्ट्रको शक्ति प्रकट भएको छ,’ खनालले भने, ‘नेपालको पोजिसन के हो ? नेपालको पश्चिमोत्तर सीमा कुन हो तथ्यसहित भारतसमक्ष उभिएर राजनीतिक समाधान गर्नुपर्छ ।’

नेकपाकै अर्का वरिष्ठ नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै यो विषयमा कुरा गर्नुपर्ने सुझाव दिए । नेपालको विषयमा प्रधानमन्त्री मोदी निकै जानकार रहेकाले त्यही तहमा नेपालबाट पनि समाधान खोज्ने पहल हुनुपर्ने उनको धारणा थियो । ‘यो मुद्दा भविष्यका लागि राख्ने होइन अहिले नै सल्टाउनुपर्छ । तथ्यप्रमाणसहित दह्रो भएर सरकार प्रस्तुत हुनुपर्छ,’ नेता नेपालले भने । बहसका क्रममा अर्का नेता गौतमले महाकाली सन्धि लगायतको प्रसंग कोट्याउँदै नेपालको पोजिसन दह्रो नबनाउँदा सधैं समस्या आइरहेको बताए । नेकपा एमालेबाट माले फुटेको सन्दर्भ उठाउँदै उनले भने, ‘अहिलेको जस्तो राष्ट्रिय सहमतिको अवस्था बनेको भए त्यही बेला सीमा समस्या समाधान भइसक्ने थियो ।’ अहिले पनि यसबारे राष्ट्रिय सहमति बनेकाले यही शक्तिको बलमा कुराकानी अघि बढाउनुपर्ने उनको धारणा थियो । गौतमले कालापानी क्षेत्रबाट भारतीय सेना तत्काल हटाउनुपर्ने बताए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा नेपाल र भारतको मात्र नभई चीनको पनि सीमा पर्ने भएकाले यसबारे भारतसँग कुरा गरिरहँदा चीनसँग पनि सरोकार राख्नुपर्ने नेताहरूको सुझाव थियो । चार वर्षअघि भारत र चीनले नेपाली भूमिमा रहेको लिपुलेक भन्ज्याङलाई दुईदेशीय व्यापारिक विन्दु बनाउने सहमति गरेका थिए । चीन र भारतबीचको ‘लिपुलेक सम्झौता’बारे नेपाललाई भने जानकारी दिइएको थिएन । उक्त सहमति सार्वजनिक भएपछि नेपालले समान्य विरोध जनाउनेबाहेक दुवै मुलुकसमक्ष कडा प्रतिवाद गर्न सकेन । ‘अहिले भारतसँग कुरा गरिरहँदा सँगसँगै चीनसँग पनि यसबारे संवाद गर्नुपर्छ’, नेता नेपालले भने । नेपालको भूमिबारे भारतर चीनले गरेको दुईदेशीय सम्झौतामाथि थप कुरा उठाउन पनि यो अवसर उपयुक्त हुने उनको भनाइ छ ।
कान्तिपुर