१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुन्ने हो ? बुलेट आमाको कुरा

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७६, बुधबार ०७:०१

अफ्रिकी मूलका गायकजस्तो कपालको बनोट, हेन्डिलमा राष्ट्रिय झन्डा राखिएको बुलेटबाइकमा सवार एक महिलालाई प्रायः नयाँ बानेश्वरतिर देख्न सकिन्छ । धेरैले उनलाई बुलेटआमा भनेर चिन्छन्, तर उनको वास्तविक नाम पुष्पलता आचार्य हो । कुनै समय गीतकार र साहित्यकारका रूपमा परिचित आचार्य हिजोआज बाइक राइडिङ र समाजसेवामा समर्पित छन् । जन्मस्थान लमजुङमा आफ्नै नाममा कलेज स्थापना गरेकी पुष्पलताले नारीमा सचेतना अभिवृद्धिका धेरै योजना सञ्चालन गरेकी छन् । उनका योजना, निजी जीवन र भावी योजनाबारे आचार्यसँग कुमार राउतले गरेको कुराकानी :

० कसले नाम राखिदियो बुलेटआमा ?
– यो उमेरमा बुलेट बाइक कुदाएर हिँड्छु । झन्डै ६ दशक उमेर पार गर्न लागें, बुलेट बाइकमा हुइकेपछि सबैले बुलेटआमा भन्ने त भइहाले नि । मैले आफै राखेको नाम होइन, मेरो व्यवहारले मलाई बुलेटआमा बनाइदियो भन्नुपर्ला ।

० यो रहर हो कि बाध्यता ?
– यसलाई बाध्यता भन्न मिल्दैन होला । बाइक राइडिङमा सौख भएकाले बुलेट कुदाएकी हुँ । राइडिङका लागि यो बाइक कम्फरटेबल लाग्छ ।

० राइडिङमा कहाँ–कहाँ पुग्नुभएको छ ?
– आरएक्स बाइक कुदाएर १६ जिल्ला घुमें । बुलेट चढ्न थालेपछि दिल्लीको कृष्णनगरसम्म पुगेकी छु । बाइकमा नेपाली झन्डा हल्लाएर राइडिङमा निस्कनुको मज्जा बेग्लै हुन्छ । आउँदो जनवरीमा काठमाडौं–पोखराको चारदिने राइडर कार्यक्रम छ ।

० कुन स्पिडमा हिँड्नुहुन्छ ?
– बाटो हेरेर हुन्छ, हाइवे छ भने ९०–१०० भन्दा कम कुदाउँदिन ।

० राइडिङका लागि बुलेट नै किन ?
– अहिले बुलेट कुदाइरहेकी छु, त्योभन्दा राम्रो बाइक कुदाउने सौख राख्छु । कुदाउन थालेपछि भनौला, अहिले नै खोक्न मलाई मन लाग्दैन ।

० एक्कासि राइडिङको सौख कसरी आयो ?
– एक्कासि होइन, आरएक्स बाइक कुदाउँथे । मेरो सौख पहिलेदेखिकै हो । बुलेट कुदाउन थालेपछि अरुले मार्क गरेका हुन् । बुलेटभन्दा पनि अझ स्तरीय बाइक कुदाउने सौख राखेकी छुु ।

० यो उमेरमा पनि यस्तो सौख ?
– महिला वा पुरुषलाई आफ्नो सौख पूरा गर्न उमेरले छेक्दैन है भन्ने म्यासेज दिनु मेरो एउटा उद्देश्य हो । मैसरहका महिलाहरू यतिबेला घरमै नाति–नातिना खेलाएर समय बिताइरहेका छन् । गर्न खोज्यो भने जुनसुकै काम सम्भव छ भन्ने सन्देश दिन चाहन्छु ।

० यसभन्दा अघि तपाईं साहित्यकार भनेर चिनिनुहुन्थ्यो होइन ?
– हो, म साहित्यकार पनि हुँ, मेरा दर्जनौं कृति सार्वजनिक भइसकेका छन् । मेरो सबै विधामा कलम चल्छ । त्यसलगायत समाजसेवाको क्षेत्रमा योगदान पु-याउन चाहन्छु ।

० कति कृति निकालिसक्नुभयो ?
– अहिलेसम्म ६३ वटा कृति निस्किसक्यो । निस्कनेक्रम जारी छ । विशेषतः आख्यानमा मेरो रुचि हो ।

० सामाजिक संघसंस्थामा नि ?
– ३८ वटा जति सामाजिक संघसंस्थामा आबद्ध छु । विशेषतः मेरो महिला र बालबालिकाको शिक्षा र वृद्धवृद्धाको सेवामा रुचि छ । साहित्यिक संगठन र राजनीतिमा मेरो कुनै चासो रहेन ।

० त्यति धेरै संघसंस्थामा आबद्ध भएर के गर्नुभयो ?
– यस्ता कुरा मैले भन्ने होइन, समाज र सञ्चारजगतले मूल्यांकन गर्ने हो । देशभरका विभिन्न स्कुलमा वार्षिक ५–६ लाख रुपैयाँको त पुस्तक नै बाँडिरहेको हुन्छु । दलित र जेहेनदार विद्यार्थीलाई भौतिक सपोर्ट गरिरहेको हुन्छु । वृद्धाको सेवाका लागि पनि हाजिर भएकै हुन्छु । राइडरबाट संकलन भएको नगद हामी त्यस क्षेत्रको शैक्षिक संस्थालाई हस्तान्तरण गर्छाैं ।

० सेवाका लागि सहयोग कहाँबाट जुट्छ नि ?
– जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय हुन्छ । कुनै उद्योग गरिनँ, सुरुका दिनमा केही व्यवसाय गरें, ट्याक्सी, टेम्पो किनेर कुदाउन दिन्थे, त्यसबेला जोडेको घरघडेरी बेचेर आएको केही पैसा म समाजसेवाको क्षेत्रमा लगानी गर्छु ।

० सुरुको थातथलो कहाँहो नि?
– हामी लमजुङ रम्घा, न्यौपाने बेसीका हौं । मेरो बाल्यकाल त्यहीँ बित्योे । शान्ति प्रा.वि. मा ५ कक्षासम्म पढें । एसएलसी चाहिँ मालिकाबाट दिएकी हुँ । मुखियाको परिवार भएकाले सान–सौकतकै जीवन थियो ।

० घरपरिवार कस्तो थियो ?
– छोरा नजन्मेपछि मेरा पिताजीले तीनवटा विवाह गर्नुभएछ । मेरी आमा चाहिँ माइली हुन् । माइलीको पहिलो सन्तान पनि छोरी नै जन्मेपछि घरमा सन्नाटा छाए छ । धेरै हेला भएछ, ६ दिनपछि मात्र मैले आमाको दूध चुस्न पाएकी अरे ।

० त्यसपछि ?
– ६० वर्षकोे उमेर पुगेपछि बुवाको छोरा जन्मियो, तर उहाँको ६३ वर्षको हुँदा निधन भयो । ६ वर्षको उमेर भएपछि मेरो चेतना आयो, त्यसपछि परिवारको निरानीमा रहन थाले छु । स्कुल पढ्न थालेपछि जीवनले नयाँमोड लिन थाल्यो ।

० अध्ययन कहाँसम्म पु-याउनु भयो ?
– एलएलसी दिएपछि पढाइ सकियो, १७ वर्षको उमेरमै विवाह गर्नु परेपछि पढाइ अघि बढ्न सकेन ।

० पे्रम विवाह गर्नुभयो ?
– होइन, त्यसबेला त्यस्ता कुरा सम्भव हुँदैन थिए । मुखियाको सम्पत्ति प्रशस्तै थियो, दमौलीका आत्मराम आचार्यसँग मेरो विवाह भयो ।

० श्रीमान् के गर्नुहुन्थ्यो ?
– उहाँ व्यवसायी हुनुहुन्थ्यो, भावना ट्राभल्स थियो, त्यो नाम चलेकै ट्राभल्स हो । त्यसबेला २८ वटा बस थिए ।

० जीवन सहजसँग बित्यो ?
– जति नै सम्पन्न भएपनि आत्मनिर्भर बन्नुपर्छ भन्ने मेरो मान्यता थियो । म आफ्नै हिसाबले मेहनत गरिरहेकी थिएँ । म आफैमा सिर्जनशील हुँ । कोठामा बस्दा पनि स्विटर बुनेर बस्थें, टेबुलमा सजाउने फुलदानी बनाउँथे । पञ्चायत रजत जयन्तमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहबाट सम्मानितसमेत भएको थिएँ ।

० त्यति धेरै मेहनत गरिराख्नुपथ्र्यो र ?
– सोह्रशृंगार गरेर बस्ने महिला म परिनँ । मनमा कुण्ठा पालेर बस्न सक्दिनँ, जे आँटछु, त्यो गर्छु । पिताजीसँग विद्रोह गरेर घरबाट निस्केकी मलाई डर भने पटक्कै लाग्दैन ।