११ बैशाख २०८१, मंगलवार
Follow Us

ट्रम्पविरुद्ध सार्वजनिक सुनुवाइ सुरु

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७६, बिहीबार ०४:३१

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक सुनुवाई सुरु भएको छ । आगामी वर्ष पुनः निर्वाचित हुने सम्भावना बढाउन ट्रम्पले युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोपको छानविनका क्रममा सार्वजनिक सुनुवाइ गरिएको हो ।

अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाणहरू टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण गर्न थालिएको हो । पहिलो सुनुवाइ युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलरसँग भएको छ ।

सुनुवाइका क्रममा उनले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध युक्रेनले भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु नगर्दासम्मको लागि युक्रेनलाई दिने अमेरिकी सहयोग रोकेको जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले भने आरोपलाई राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन् । महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो ।

यदि तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाइ गर्नुपर्ने बाध्यता हुनेछ । तर माथिल्लो सदनमा त्यो पारित गर्न दुईतिहाइ बहुमत आवश्यक हुन्छ । यो मुद्दामा ट्रम्पको दलको पकड रहेको माथिल्लो सदनबाट त्यो पारित हुने सम्भावना कम छ ।