८ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७६, शुक्रबार १८:५८

काठमाडौं। हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । नेपाली पत्रकारको अन्तराष्ट्रिय संजाल (ईन्जा) द्वारा काठमाडौमा आयोजित एक बिशेष कार्यक्रममा सो सम्मान गरिएको हो ।

‘पत्रकारिता जीवनमा पहिलो पटक पुरस्कृत भएकोमा हर्षित छु, पत्रकारितामा अझ बढी जिम्मेवारी महसुस भएको छ । उपचार गराउन ढिला हुँदा बिहिवार सिभिल अस्पतालमा ज्यान गुमाएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई पाएको पुरस्कारबाट २५ हजार सहयोग गर्ने घोषणा गर्दछु’ उनले भने ।

मानवअधिकारवादी नेता कृष्ण पहाडीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जनआन्दोलनको बेला शिवाकोटीले निरन्तर लागेको चर्चा समेत गरे । नेपालको लोकतन्त्रमा नेपाली सञ्चार जगतले पुर्याएको योगदानको समेत स्मरण गरे । साथै उनले प्रेस एक ठुलो शक्ति भएको चर्चा गर्दै जोश र होसमा संयमित भएर काम गर्न समेत सुझाव दिए । पत्रकारहरुलाई अझ सशक्त रुपमा ‘क्लाइमेट चेन्ज’को रुपमा कलम चलाउनु पर्ने बेला आएको उनले बताए । विश्वकै सबैभन्दा बढी कार्वन्डाइअक्साइड उत्पादन गर्ने चीन र विश्वमै तेस्रो भारतको बीचमा रहेको नेपाल दुई ठुला इटा भट्टाको बिचमा रहेको झुपडी जस्तो भएको समेत बताए ।

त्यसैगरी पत्रकार महासंघका पूर्व अध्यक्ष तथा इन्जाका सल्लाहकार तारानाथ दाहालले यहाँ धेरै न्युजहरु न्युजरुममा नपुग्दै मर्ने चर्चा गर्दै शिवाकोटीले साहसिक रुपमा न्युज प्रशारण गरेर पत्रकारिताको धर्म निभाएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘पत्रकारको अर्थ सत्यको उजार गर्नु हो, यो कसीमा अजयबाबु खरो उत्रेकोले साहसिक पत्रकारिताको हकदार भएका छन् ।’

कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकाल र कार्यक्रमका सभापति पत्रकार टंक पन्तले आफ्नो कुरा राखेका थिए। पुरस्कारको राशी एक हजार डलर रहेको छ।

राजधानीको थापागाउँस्थित लेखनकुञ्जमा इन्जाको नेपाल च्याप्टरले पत्रकार शिवाकोटीलाई एक कार्यक्रमबीच सो पुरस्कार प्रदान गरेको हो। नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले दुई दशक भन्दा लामो समय पत्रपत्रिका, रेडियो, तथा टेलिभिजनमा आवद्ध भएर काम गरिसकेका छन् ।