४ बैशाख २०८१, मंगलवार
Follow Us

अमृत क्षेत्रीले नेपाली कक्षाका विद्यार्थीलाई सिकाए गीत, संगीत

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७६, शनिबार १९:३३
लन्डन। चर्चित गायक तथा संगीत शिक्षक अमृत क्षेत्रीले बर्न्टओकस्थित नेपाली कक्षामा अध्ययनरत बालबालिकालाई नेपाली गीत-संगीत सिकाएका छन्।

नेपाल सेन्टर युकेको आमन्त्रणमा हाल बेलायत भ्रमणमा रहेका गायक क्षेत्रीले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रद्वारा शनिवार बिहान आयोजित एक कार्यक्रममा बेलायतमा हुर्की रहेका बालबालिकालाई गीत सिकाएका हुन् ।
‘संगीत यस्तो माध्यम हो जसले हाम्रो भाषा, संस्कृति जोगाउन मदत गर्छ’-क्षेत्रीले भने-‘संगीत सुनेर सिकिने विषय हो त्यसैले घरमा, गाडीमा नेपाली गीत लगाइ दिनोस, बालबालिकाले सुनेरै सिक्छन् ।’

क्षेत्रीले गुरु वन्दना पछि ‘फूलको आँखामा फूलै संसार’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘नेपाली हामी रहौंला कहाँ
नेपालै नरहे’, ‘रेशम फिरिरी…’ जस्ता गीत गएर सुनाएका थिए।

त्यस्तै गायिका रचना ज्ञवालीले ‘बालक हामी पबित्र मनका सुन्दर कोपिला’ भन्ने गीत सुनाइन् भने नेपाली कक्षाका स्वयंसेवी संगीत शिक्षक उमेश खड्काले गितारमा साथ दिएका थिए।

कार्यक्रमको शुरुमा बार्नेट काउन्सिलका उपमेयर लक्ष गुरुङ, केन्द्रका अध्यक्ष सुमन प्रधानले गायक क्षेत्री तथा नेपाल सेन्टरका संस्थापक अध्यक्ष निर्मल कुमार थापालाई स्वागत गरेका थिए ।

कार्यक्रम संचालन केन्द्रका सल्लाहकार भोला पनेरुले गरेका थिए। कार्यक्रममा एनआरएनए आइसीसीका पूर्व सल्लाहकार सुरेन्द्र श्रेष्ठ लगायत अभिभावकहरुको पनि उपस्थिति थियो।