काठमाडौं । डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेका दुई नयाँ कृति सार्वजनिक भएको छ । ‘रहस्यः जीवन र प्रेम’ तथा ‘ऊर्जा’ नामक कृति शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

एक कार्यक्रमबीच शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई नयाँ कृति सार्वजनिक गरे। ‘ऊर्जा’ मा समसामयिक एवं सामाजिक विषयवस्तुका ४७ निवन्ध समावेश छन् ।

‘रहस्यः जीवन र प्रेम’ पुस्तकले जीवनमा प्रेमको महत्व दर्शाएको छ । प्रेमपूर्ण भावले मात्रै जीवनमा प्रगति सम्भव रहेकोतर्फ पुस्तक केन्द्रित छ ।

कार्यक्रममा प्रमुख अतिथी जोशीले पुस्तक जीवनपयोगी भएको बताए भने विशिष्ट अतिथि घिसिङले साहित्यभन्दा फरक कृषिमा विद्यावारिधि गरेका दम्पतीले कला साहित्यतर्फ समेत पुर्‍याएको योगदानको प्रसंशा गरे ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समालोचक एवं सर्जक डा. राम प्रसाद ज्ञवालीले ‘ऊर्जा’ र डा. लेखप्रसाद निरौलाले ‘रहस्यः जीवन र प्रेम’माथि समिक्षात्मक टिप्पणी गरेका थिए ।

कृषिवीद डा. प्रद्युम्नराज पाण्डे र स्वतन्त्र सामाजिक परामर्शदाता डा. नम्रता पाण्डेका यसअघि आध्यात्मिक निवन्ध संग्रह ‘आफ्नो किताब’ प्रकाशित भइसकेको छ ।