१३ बैशाख २०८१, बिहीबार
Follow Us

को–को बन्दैछन् नयाँ मन्त्री?

sarusaru
२ मंसिर २०७६, सोमबार ०४:२१

काठमाडौं। लामो छलफल र तयारपछि प्रधानमन्त्री केपी ओलीले आज सोम मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्। यसअघि पनि पटक पटक मन्त्रिपरिषद पुनर्गठन गर्ने चर्चा चलेपनि त्यसलाई प्रधानमन्त्री ओलीले बेवास्ता गर्दै आएका थिए। तर सरकारको कामको चर्को आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न थालेका हुन्।

आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गरेको थियो। मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा सहमति भएपनि कुन कुन मन्त्रिलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषयमा भने यकिन भएको छैन। सबै मन्त्री परिवर्तन गर्ने नभइ कार्यसम्पादन राम्रो नभएका मन्त्रीलाई हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहारलाई ल्याउने प्रधानमन्त्रीले तयारी गरेका छन्।

विगत केही समयदेखि मन्त्रिपरिषद पुनर्गठनका विषयमा प्रधानमन्त्री ओलीले शीर्ष तहका छलफल गर्दै आएका थिए। यसअघि अर्का अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने बताएपनि प्रधानमन्त्री तयार भएका थिएनन्। तर अब मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्का भएको छ।

प्रधानमन्त्री ओलीले कुन कुन मन्त्रीलाई हटाउने र उनीहरुको ठाउँमा कुन कुन मन्त्रीलाई ल्याउने भन्ने विषयमा आज एक अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेर अन्तिम टुंगो लगाउने एक सचिवालय सदस्यले बताए।

कुन कुन मन्त्रीलाई हटाएर कसलाई ल्याउने भन्ने निर्णय नभएपनि पूर्वमाओवादीबाट कृषि मन्त्री चक्रापाणि खनाल, उद्योगमन्त्री मातृका यादव र पूर्व एमालेबाट महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुद मन्त्री जगत विश्वकर्मा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई हटाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री नियुक्त गर्ने संभावना रहेको छ। ती बाहेक अन्य मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको छ।

यसैगरी नयाँ मन्त्री बन्नेकाे चर्चामा पूर्वमाओवादीबाट जनार्दन शर्मा, देवेन्द्र पाैडेल, प्रभु साहकाे नाम चर्चामा छ। यसैगरी पूर्व एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, विशाल भट्टराईकाे नाम चर्चामा छ।
डिसी नेपाल