७ बैशाख २०८१, शुक्रबार
Follow Us

सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झना गर्दै ‘विश्व सम्झना दिवस’

sarusaru
२ मंसिर २०७६, सोमबार ०५:२४

बनेपा । जिल्लाका सदरमुकाम धुलिखेल र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस र नेपाल अटोमोबाइल एशोसिएशनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकास्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा विविध कार्यक्रम आयोजना गरेर सो दिवस मनाइएको हो।

धुलिखेलको सरस्वती बजारमा भएको कार्यक्रममा सडक सुरक्षासँग सम्बन्धित श्रव्यदृष्य सामग्री प्रस्तुत गर्नुका साथै गत आर्थिक बर्षमा सडक दुर्घटनामा परी ज्यान गुमाएका दुई हजार ७८९ को सम्झनाका साथै दुर्घटनामा घाइते र अङ्गभङ्ग भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको थियो।

सो क्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नेपालमा प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको र जसमा वर्षेनी करिब तीन हजार मानिसले ज्यान गुमाउने गरेको उल्लेख गर्दै त्यस प्रकारका दुर्घटनाको मुख्य कारण सवारी नियमको उल्लङ्घन गरी चलाउने गरेकाले हो भन्दै सडक प्रयोगकर्ता बढी सजग र सचेत हुनुपर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले ट्राफिक व्यवस्थापन गर्न सरोकारवाला निकाय गम्भीर नबनेसम्म प्रहरीको पहलबाट मात्र विकराल समस्या समाधान गर्न सम्भव नहुने बताए ।

सो क्रममा सापकोटाले ट्राफिक नियमको पालना गर्दै आफ्नो गन्तव्य तय गर्न समस्त सडक प्रयोगकर्तामा आग्रह गरे । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अव्यवस्थित सडक र ट्राफिक व्यवस्थापनको अभावमा सडक दुर्घटनाबाट गत आर्थिक वर्षमा दुई हजार ७८९ ले ज्यान गुमाएको उल्लेख छ।

सो क्रममा १४ हजार बढी घाइते र अर्बौंको भौतिक क्षति भएको उल्लेख छ। नेपालभर ट्राफिक नियम उल्लङ्घन तथा सडकको दूरावस्थाकै कारण भएका सवारीसाधन दुर्घटनामा दैनिक सरदर आठभन्दा बढीले ज्यान गुमाउँदै आएको प्रहरीले जनाएको छ।

त्यसको लागि स्थानीय विकास, भौतिक योजना तथा निर्माण र श्रम तथा यातायात व्यवस्था मन्त्रालय गम्भीर बन्नुपर्नेतर्फ जोड दिइएको थियो।भौतिक पूर्वाधारको अभाव, वैज्ञानिक उपकरण कमी, सवारी चालक र सडक प्रयोगकर्ताको मिचाहा प्रवृत्ति तथा जनशक्तिको अभावले ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको सो क्रममा सरोकारवालाले आवाज उठाएका थिए।

उता भकुण्डेमा भएको कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद तिमल्सिना र भकुण्डे प्रहरीचौकीका प्रतिनिधिका साथै विभिन्न सङ्घ÷संस्थामा आबद्ध व्यक्तिको उपस्थितिमा सो दिवस सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
रासस