१५ बैशाख २०८१, शनिबार
Follow Us

श्रीलंकामा भाइ राष्ट्रपति, दाइ प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७६, बुधबार १५:४६

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटभाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिएसँगै बुधबार गोटभायाले ७४ वर्षीय दाइ महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। महिन्दा राजापाक्षेले बिहीबार ७० वर्षका भाइ गोटभायासँग पद तथा गोपनियताको सपथ लिने छन्। सपथ लिएको केहीबेरमा उनले मन्त्रीमण्डल विस्तार गर्ने श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्।

महिन्दा प्रधानमन्त्री बनेसँगै टापु राष्ट्र श्रीलंकाको सत्ताको साँचो ४ वर्षअघिजस्तै राजापाक्षे परिवारमा आएको छ। महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए। गोटभायालाई उनले रक्षा मन्त्री बनाएका थिए। यी दुई दाजुभाइले सन् २००९मा २५ वर्ष लामो तमिल विद्रोह दबाएका थिए।

त्यही बेला बनाएको ‘टर्मिनेटेर’ को छविले गोटभायाले गत शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा प्रतिष्पर्धी उम्मेद्वार सतिस प्रेमदासालाई हराएका थिए। गोटभायाले सात महिनाअघि इस्टर दिन भएको आतंकवादी हमलाबाट त्रसित श्रीलंकालीलाई आफूले देशको रक्षा गर्ने वाचा गरेका थिए।