१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जाहेरवाला र साक्षीलाई कडा सुरक्षा, आलमको यतिसम्म छ डर

nepalbritain news
५ मंसिर २०७६, बिहीबार ०१:४९

राजपुर बमकाण्डमा निलम्वित सांसद मो. आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ।

छोरा मारिएको भन्दै आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका श्रीनारायण सिंहको सुरक्षाका लागि रौतहट प्रहरीले प्रहरी हवल्दार खटाएको छ। उनले २४ सै घण्टा सिंहको सुरक्षा दिँदै आएका छन्।

जाहेरवालामध्ये सिंहलाई बढी सुरक्षा थ्रेट देखिएकाले प्रहरी खटाइएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए। अर्का जाहेरवाला रोक्सना खातुनको ०६७ माघ १० गते हत्या भइसकेको छ। खातुनको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन। सिंह परिवारको सुरक्षाका लागि नजिकैको चौकीबाट समेत प्रहरी खटिने गरेका छन्।

पछिल्ला दिनमा प्रत्यक्षरूपमा धम्की नआएको तर फकाउने मनसायले कुराहरू आउने गरेको सिंहका छोरा सतेन्द्रप्रताप सिंहले बताए। आलमको मुद्दामा प्रहरीले अनुसन्धान गर्दा पनि सिंह परिवारलाई मुद्दा फिर्ताको दबाब आएको थियो। सिंहले न्यायाधीश समक्ष पनि आफूलाई पैसा लिएर मुद्दा फिर्ता लिन दबाब आएको बताएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।