७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेताका छोरा भतिजा एड्जस्ट भएनन तरुण दलमा

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७३, बुधबार ०६:३२

पोखरा । नेताका छोरालाई एडजस्ट गराउन लम्बिएको तरुण दलको महाधिवेशन आज अपरान्ह पत्रकार सम्मेलनमा घोषणा गरी सम्पन्न भयो । नेताहरुबीच भागवण्डा मिलेपछि पत्रकार सम्मेलनमार्फत् अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौलाबीच पदीय भागबन्डामा सहमति जुटेपछि नेतृत्व सर्वसम्मत हुनेछ ।
भागबन्डाअनुसार अध्यक्ष संस्थापन पक्षले, महासचिव पौडेल पक्षले, उपाध्यक्ष सिटौला समूहले र कोषाध्यक्ष खड्का समूहले पाउने भएका छन् । संस्थापन पक्षले नेविसंघका पूर्वमहामन्त्री जितजंग बस्नेतलाई तरुण दलको अध्यक्ष बनाउने निर्णय गरिसकेको छ । उपाध्यक्षमा सिटौला समूहले उत्तम चापागाईंलाई सिफारिस गरेको छ भने महासचिवमा भुपेन्द्रजंग शाहीलाई पौडेल समूहले सिफारिस गरेको छ । खड्का समूहले पाएको कोषाध्यक्ष पदमा विद्वान गुरुङलाई पठाइएको छ । केन्द्रीय सदस्य भने काठमाडौं आएपछि पार्टीको सिफारिसमा अध्यक्षले मनोनित गर्ने बताइएको छ ।
यो महाधिवेशनमा नेताका छोरा भतिजालाई एड्जस्ट गर्नका लागि निर्वाचन हुन दिइएको थिएन । बीपी कोइरालाको नाती सिद्धार्थ कोइरालालाई उपाध्यक्षमा ल्याइने चर्चा थियो भने महासचिवमा प्रकाशमान सिंहका छोरा प्रवेशमान सिंह र डा. प्रकाशशरण महतका भतिजा रमेश महतलाई पनि पदाधिकारीमा एडजस्ट गर्ने एक्ससाइज भएको थियो । अन्तिम अवस्थामा आएर यी तिनैजना तरुण दलको पदाधिकारी बन्न सफल भएनन् ।