१५ चैत्र २०८०, बिहीबार
Follow Us

परिणाम चाहियो : प्रधानमन्त्री ओली

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७६, बिहीबार १५:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुर्नगठित मन्त्रिपरिषद बैठकमा कडा रुपमा प्रस्तुत भए । बिहिबार पुर्नगठित मन्त्रिपरिषदको पहिलो बैठकमा उनले काम गर्न नसके सह्य नहुने बताए । यो या त्यो बहानामा काम टार्ने प्रवृत्तिलाई कुनै हालतमा नसहने बताएका हुन् ।

मन्त्रीहरुलाई चार दिनपछि प्रष्ट कार्ययोजना लिएर आउन समेत निर्देशन दिए । सरकार गठनको दुई वर्ष पूरा भएपछि फागुनमा पुनः समिक्षा बैठक बस्ने र त्यसपछि निर्णय लिने समेत बताए । फागुनमा काम गर्न नसक्ने मन्त्रीहरु परिवर्तन गर्ने संकेत गरे ।

इच्छाशक्ति भए एक वर्षको काम एक दिनमा गर्न सकिने उदाहरण बनिसकेको समेत बताए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा रातारात धेरै काम भएको भन्दै चाहेमा गर्न सकिने बताए । महिनामा सकिने काम रोकेर वर्षौं लगाइए कडा कदम चाल्ने चेतावनी समेत दिए ।

पछिल्लो समय पूर्वाधार विकासमा निकै ढिलासुस्ती भएकोमा ओली असन्तुष्ट बनेका छन् । उनले काम गर्न नसक्ने कर्मचारीलाई समेत कारबाही गर्न पछि नहट्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।