१३ बैशाख २०८१, बिहीबार
Follow Us

हिन्दु शब्दको दुरुपयोग भइरहेको छ

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७३, बुधबार ०६:४५

किरण पाठक, उपाध्यक्ष, आर्य समाज
आर्य समाजमार्फत मानवतावादी धर्मको प्रचारसँगै नेपाली काँगे्रसको राजनीतिमा संलग्न किरण पाठकलाई हिन्दु शब्दप्रति गम्भीर आपत्ति छ । मूर्ति पूजाभन्दा दीनदुःखीको सेवालाई महत्वपूर्ण ठान्ने पाठक हिन्दु कुनै धर्म नभएको बताउँछिन् । हाम्रो धर्म वैदिक सनातन भएको उनको भनाइ छ । सनातन धर्म चार वेदबाट निर्देशित रहेको बताउने पाठकसँग कुमार राउतले गरेको कुराकानी :
० के हो आर्य समाज ?
– वैदिशक सनातन धर्मलाई मान्ने समुदायको संगठन हो आर्य समाज । चार वेदलाई मात्र मान्छ आर्य समाजले । पुराणलगायत अन्य शास्त्र ऋषिमुनिहरूले रचना गरे पनि मानव धर्मलाई त्यसले निर्देशित गर्न सक्दैन ।

० आर्य समाज हिन्दु धर्मअन्तर्गतकै होइन र ?
– हिन्दु भन्ने शब्द कहाँबाट आयो ? मलाई थाहा भएन । हामी वैदिक सनातनीय मानव धर्म मान्छौं । अन्य धर्मशास्त्र होइन, चार वेदमा लेखिएका कुरा मात्र हामीलाई मान्य हुन्छ । महाभारत, भागवत पुराणका कुरा सबै साँचो होइन भन्ने हाम्रो ठहर हो ।

० वेद के हो ?
– मनुष्य मात्रको संविधान हो । जीवधारीको रक्षाका लागि बनाइएको विधि विधान हो ।

० वेदबाहेक अन्य धार्मिक ग्रन्थ ?
– मिथक पात्र बनाएर लेखिएका साहित्यिक पुस्तक हुन् । त्यहाँ भएका सबै कुरा पत्याउन सकिँदैन । जे नाम दिए पनि धर्म एउटै हुन्छ, त्यो हो मानवतावादी । हिन्दु, मुस्लिम, क्रिस्चियन नाम दिनु भनेको धर्मका नाममा युद्ध गराउनु मात्र हो । त्यस्तो झगडा गर्न सिकाउने पनि धर्म हुन्छ ?

० आर्य समाजले चाहिँ कुन देउतालाई मान्छ ?
– मानवतावादी धर्म मान्छ । यसभित्र १० वटा लक्षण हुन्छन् । त्यो १० वटा लक्षण मान्नुपर्छ । ब्रह्मालाई हावा, विष्णुलाई पानी र महेशलाई अग्निका रूपमा मान्छौं ।

० दस लक्षण के हुन् ?
– सहनशील, क्षमा, साहस, चोरी, भ्रष्टाचार नगर्नु, शुद्ध बस्छु, इन्द्रीय निग्रह, धीर, विद्या, सत्य र अक्रोध हुन् ।

० त्यसो भए हिन्दु धर्म के हो ?
– मैले बोल्दा हिन्दु शब्दको विरोध गरे जस्तो हुन्छ, त्यसैले हिन्दुबारे अरुलाई नै सोध्नुहोला ।

० तपाईं पूजापाठ गर्नुहुन्न ?
– मूर्ति पूजा हामी गर्दैनौं । मानिसले बनाएको एउटा कलाकृतिलाई पूजापाठ गर्ने मूर्खता म गर्दिनँ ।

० पशुपतिनाथको मन्दिर जानु हुन्न ?
– जान्छु, तर पूजापाठ गर्दिनँ । मन्दिर वरपर बसेका दीनदुःखीलाई सहयोग गर्छ ।

० तपाईंहरू के गर्नुहुन्छ ?
– हामी हवन गछौं । चामल डढाउने हवन होइन, वनस्पति र धूपको हवन गछौं ।

० हिन्दु राज्य चाहियो भन्दैछन् नि ?
– हाम्रो आर्यव्रत देश हो । हिन्दु शब्दको दुरुपयोग भइरहेको छ । वास्तवमा वैदिक सनातन धर्म हुनुपर्ने हो । हिन्दु भन्ने धर्म नै हुँदैन, गराई हाम्रो वैदिक सनातन नै छ । भनाइ र गराइमा हाम्रो तालमेल नमिलेको हो ।

० धर्मकर्मप्रति कसरी लगाव बढ्यो ?
– म खानदानी धर्मप्रचारक हुँ । मेरा हजुरबुवा धर्म प्रचार गर्न सिक्कमसम्म पुग्नुभएको थियो । उहाँ ठूला ज्योतिष हुनुहुन्थ्यो । पछि बुवा पनि ज्योतिष हुनुभयो । यो ज्योतिष भन्ने कुरा पनि झुटो रहेछ भनेर उहाँ आर्य समाज अर्थात् मानव धर्मको प्रचार प्रचारमा लाग्नुभयो । बुवाले मेरो पनि व्रतबन्ध गरिदिनुभयो, त्यसपछि म पनि निरन्तरता आर्य समाजको प्रचारमा छु ।

० महिलाको पनि व्रतबन्ध ?
– वेदमा नरनारी भनेर लेखेको छ, वेदले महिला र पुरुषलाई विभेद गरेको छैन । त्यसैले वैदिक परम्पराअनुसार बुबाले मेरो पनि व्रतबन्ध गरिदिनुभएको हो । अघि नै भनें, हामी वेदलाई मान्छौं, पुराणमा लेखिएको कुराप्रति हामीलाई विश्वास छैन ।

० धर्म प्रचारको खानपान कस्तो हुन्छ ?
– मदिरा सेवन गर्ने कुरो हुँदैन, खाना साकाहारी मात्र हो । हिंसाबाट टाढा बस्नुपर्छ भन्ने आर्य समाजको मान्यता हो ।

० थातथलो चाहिँ कहाँ हो नि ?
– पहाड घर इलाम सुलबुङ, त्यसपछि सिक्कम हुँदै झापा र पछि काठमाडौंमा बसोबास गर्दै आएका छौं ।

० पढाइ लेखाइ ?
– एसएलसी पासपछि पद्मकन्यामा भर्ना भएँ, विविध कारणले पढाइ पूरा गर्न सकिनँ । पाटनबाट आईए पास गरें । स्नातक चाहिँ मैले त्रिचन्द्रबाट गरेकी हुँ । विद्यार्थी जीवनमै ०४२ सालको सत्याग्रहमा सहभागी भएकी थिएँ ।

० परिवारमा अरु के गर्छन् ?
– चार दिदीबहिनी हौं, सबैको आ–आफ्नो बन्दोबस्त छ । दुई दाजुहरू भारतमा हुनुहुन्छ, उहाँहरू काँगडा विश्वविद्यालयमा अध्यापन गराउनुहुन्छ । एकजना भाइ यहीँ कानुन व्यवसायी छ । एउटा देश बाहिर छ ।

० जीविकोपार्जनको माध्यम के छ ?
– श्रीमान् धेरै वर्ष विदेश बस्नुभयो । अहिले वैदेशिक रोजगार व्यवसाय छ उहाँको । हामीले तत्कालीन किष्ट बैंकमा लगानी पनि गरेका थियौं, त्यसबाट धेरै नोक्सानी व्यहोर्नुप¥यो । अहिले म राजनीति र मानव धर्मको प्रचारप्रचारमा हिँड्छु ।

० काँँग्रेस राजनीतिलाई निरन्तरता दिइराख्नुभएको छ ?
– हो, नेविसंघबाट सुरु भएको मेरो राजनीतिक । झापा हुँदै अहिले काठमाडौं क्षेत्र नं. ३ मा सक्रिय रूपमा लागिरहेकी छु । १३ औं महाधिवेशनमा थोरै झेल नभएको भए महाधिवेशन प्रतिनिधि हुन्थेँ ।

० कांग्रेसभित्र कुन समूहको तपाईं ?
– समूहभन्दा पनि आफूलाई नेपाली कांग्रेसको अनुशासित कार्यकर्ता ठान्छु । यद्यपि मैले सभापति शेरबहादुर देउवाको साथ छाडेकी छैन । प्रजातान्त्रिक कांग्रेस हुँदासमेत मैले झापामा संगठन गरेकी थिएँ ।

० देउवा सभापति भएर पनि केही गरेनन् भन्ने आरोप छ नि ?
– काँग्रेस मास बेस पार्टी हो, यसमा सबैको चित्त बुझाउन सकिँदैन, असन्तुष्टहरूले जे पनि आरोप लगाउँछन् । सुशील कोइरालालाई पनि त्यस्तो आरोप लागेकै थियो । तर सभापति देउवाले भ्रातृसंगठनलाई चलायमान बनाइराख्नुभएको कुरा त तपाईं हामीबीच छर्लंग छ नि ।

० खोइ पदाधिकारी नियुक्त गर्नुभएको ?
– त्यो विस्तारै हुँदै जान्छ, यतिबेला भ्रातृसंगठनको अधिवेशन चलिरहेको छ । सुशील कोइरालाको जस्तो कम्प्लेन शेरबहादुर देउवाको नआओस् भन्ने हाम्रो चाहना हो ।

० महिलालाई राजनीति गर्न सजिलो छ ?
– छैन, सबैभन्दा कठिन महिलालाई जस्तो लाग्यो । महिलालाई पे्ररणा दिनुपर्ने ठाउँमा खुट्टा तान्ने प्रवृत्ति मौलाएको छ ।

० राजनीति गर्न परिवारले सहयोग गरेको छ ?
– छ, श्रीमान्कै सहयोगले राजनीति र धार्मिक कार्यक्रममा हिँड्न सजिलो भएको छ । उहाँले कहिले कम्प्लेन गर्नुभएको छैन, बरु पे्ररणा दिनुभएको छ ।

० राजनीति र धर्ममा के फरक छ ?
– धर्मले म होइन तँ भन्छ, राजनीतिले तँ होइन म भन्छ ।