७ बैशाख २०८१, शुक्रबार
Follow Us

नयाँ ट्याक्सी १२ सय सीसीको हुनुपर्ने, एसी र जिपिएस अनिवार्य

sarusaru
६ मंसिर २०७६, शुक्रबार ०७:१४

यातायात व्यवस्था विभागले ट्याक्सीको नयाँ मापदण्ड तयार पारेको छ।

नयाँ मापदण्डअनुसार काम गर्न यातायात व्यवस्था कार्यालयहरुलाई चिठी समेत पठाइसकेको विभागले जनाएको छ।

मापदण्डअनुसार नयाँ ट्याक्सी ल्याउँदा कम्तीमा १ हजार २ सय सीसीभन्दा माथिको ४ स्ट्रोक सेडान कार हुनु पर्नेछ। कारमा ३ वा सोभन्दा धेरै सिलिन्डर हुनु पर्नेछ।

नयाँ ट्याक्सीमा सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम अनिवार्य हुनु पर्ने मापदण्डमा उल्लेख छ।

२० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउने गरिन्छ। यो मापदण्ड तीनै नयाँ ट्याक्सीमा लागू हुनेछ।

नयाँ ट्याक्सी दर्ता खोल्नेबारे भने कुनै तयारी नरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले स्पष्ट पारे।

‘ट्याक्सी रिप्लेस गर्दा नयाँ मापदण्डअनुसार ल्याउनु पर्छ तर अहिले नयाँ दर्ता खुलाउने तयारी छैन,’ उनले भने।

विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा मन्त्रालय पठाएको थियो।

मन्त्रालयले मापदण्ड निर्धारण विभागकै क्षेत्राधिकारभित्र पर्ने भन्दै मस्यौदा करिब १ महिनाअगाडि विभागमै फिर्ता पठाएको थियो। हाल उपत्यकामा करिव ९ हजार ट्याक्सी सञ्चालनमा छन्।

ट्याक्सीको नयाँ मापदण्ड यात्रुको हितमा भएको यातायात अधिकारकर्मी रामबहादुर थापाले बताए। २०४८ बनाइएको मापदण्ड २८ वर्ष पछि भने पनि परिवर्तन भयो, यो राम्रो कुरा हो,’ थापाले भने ‘ती ८ सय सिसिका साना गाडिमा सुरक्षा, सुविधा लगाएतको कुरामा यात्रुहरु धेरै समयदेखि ठगिइ रहेका थिए।
सेतोपाटी