११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए प्रतिनिधिमण्डल र परराष्ट्र सचिव वैरागीबीच छलफल

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७६, शुक्रबार १२:३९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले परराष्ट्र सचिव शंकरदाश वैरागीलाई भेटेर समसामयिक विषयमा छलफल गरेको छ।

संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेरै गैरआवासीय नेपाली नागरिकता, कालापानी सिमा अतिक्रमणलगायतका पाँच समसामयिक विषयमा छलफल गरेको बताइएको छ।

गैरआवासीय नेपाली नागरिकताको विषय यथाशक्य चाँडो समाधान गरिदिन प्रतिनिधिमण्डलले अनुरोध गरेको अध्यक्ष कुमार पन्तले जानकारी दिए। छलफलमा अध्यक्ष पन्तले एकपटकको नेपाली सधैंको नेपाली हुने किसिमले राजनीतिक अधिकारसहितको नागरिकता नै गैरआवासीय नेपालीको चाहना भएकाले त्यही अनुसार सम्बोधन गरिदिन आग्रह गरेका थिए।

एकपटकको नेपाली सधैंको नेपाली हुने किसिमले राजनीतिक अधिकारसहितको नागरिकता नै गैरआवासीय नेपालीको चाहना भएकाले त्यही अनुसार सम्बोधन गरिदिदा वाञ्छनीय हुन्छ।

छलफलका क्रममा कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणका विरूद्ध संसारभरका एनआरएन नेपाल सरकारको साथमा रहेको बताउँदै यसलाई जुनसुकै माध्यमबाट पनि नेपालको हितमा समाधान गर्न आग्रह गरियो। अध्यक्ष पन्तले एनआरएनको अगुवाइमा विभिन्न देशमा रहेका भारतीय नियोगसामु विरोध प्रदर्शनसहित ज्ञापनपत्र दिइएको जानकारी गराएका थिए।

प्रतिनिधि मण्डलले रेमिट्यान्समा लाग्ने कमिसनबाट दुई पैसा वैदेसिक रोजगार कल्याणकारी कोषमा योगदान दिने व्यवस्थाका लागि आवश्यक मार्गप्रशस्त गरिदिन माग पनि गर्यो। यसैगरी सामूहिक लगानी कोष सञ्चालनका लागि आवश्यक नीति नियम बनाइ दिन पनि अनुरोध गरियो।

छलफलका क्रममा आगामी विज्ञ सम्मेलनको तयारी र सहभागिताका बारेमा पनि कुराकानी भएको बताइएको छ।