१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मन्त्री हेरफेर पछि नेकपामा असन्तुष्टी

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७६, शनिबार ०६:०१

काठमाण्डौ । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेपछि पार्टीभित्र असन्तुष्टी चुलिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मात्रै छलफल गरेर मन्त्री हेरफेर गरिएको भन्दै वरिष्ठ नेपालद्धय झलनाथ खनाल र माधवकुमार नेपाल असन्तुष्ट बनेका हुन् ।

विगतदेखि नै पार्टी संचालन र सरकारको कामप्रति असन्तुष्ट व्यक्त गर्दै आएका नेपालको असन्तुष्टी यसपटक झनै चुलिएको हो । राम्रो काम गर्दा गर्दै पनि आफू निकट नेता गोकर्ण विष्टलाई मन्त्रीबाट हटाएकोमा नेपाल रुष्ट बनेका हुन् । त्यसैगरी सन्तोषजनक काम गरिरहेका अर्को नेता लालबाबु पण्डितलाई हटाइएकोमा पनि नेपालको असन्तुष्टी छ । विष्ट र पण्डित नेपालको कोटाबाट मन्त्री बनेका थिए ।

हटाइएका मन्त्रीहरुमध्ये विष्टले राम्रो काम गर्दागर्दै हटाइएको भन्दै ओलीको सर्वत्र विरोध भइरहेको छ । पण्डितले पनि कर्मचारी समायोजन जस्तो जटिल काम सम्पन्न गर्ने प्रयास गरेकाले हटाइहाल्न नहुने कतिपयको तर्क छ ।

हटाएर नयाँ मन्त्री राख्दा पनि नेपालले भने झैँ गरी आफ्नो गुटका नेता नपरेपछि ओलीसँग थप रुष्ट बनेका हुन् ।

झलनाथ खनाल निकट मानिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढालाई हटाएपछि खनाल पनि असन्तुष्ट बनेका हुन् । आफूलाई सांसद बनाउनका लागि काठमाण्डौ क्षेत्र नम्बर ७ बाट राजिनामा नै दिन तयार भएका रामवीर मानन्धरलाई राज्यमन्त्री मै थन्क्याएपछि नेता बामदेव गौतम पनि असन्तुष्ट छन् ।

मन्त्री बनाउने भनेर आश्वासन दिएका तर मन्त्री बन्न नपाएका महेश बस्नेत, भीम रावल, प्रमु शाह, जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, अग्नी सापकोटा, हरिबोल गजुरेललगायत पनि असन्तुष्ट छन् ।

स्वतन्त्र सांसदको रुपमा रहेका हृदयेश त्रिपाठी र पदको लोभमा भौँतारिएका रामेश्वर राय यादवलाई मन्त्री बनाएकोमा पनि उनीहरुको असन्तुष्टी छ ।