११ बैशाख २०८१, मंगलवार
Follow Us

मिस वर्ल्डमा अनुष्कालाई जिताउन एनआरएन यूकेको सकृयता

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७६, आईतवार १३:३२

लण्डन। मिस वर्ल्ड प्रतियोगितामा भाग लिन मिस नेपाल अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन्।

मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन उनी बुधबार साँझ लण्डन आइपुगेकी हुन्।

यस वर्षको मिस वर्ल्ड प्रतियोगिता आउँदो डिसेम्बर १४ मा लण्डनमा आयोजना हुँदैछ। जसमा विश्वका करिब १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ।

अबको दुई साता अनुष्का विभिन्न चरणका प्रशिक्षण र प्रतिस्पर्धाहरूमा व्यस्त रहनेछन्। विशेषगरी प्रतियोगितामा मल्टिमिडिया अवार्ड जित्नको लागि उनलाई ‘अनलाइन लाइक’को आवश्यक पर्छ।

लन्डन आउनु अगाडि मिस नेपाल अनुष्काले गैरआवासीय नेपाली संघसँग एक समझदारी गर्दै आफूले संघको सद्भावना दूतको रुपमा कार्य गर्ने भएकी थिइन्। एनआरएनले आफ्नो सञ्जालमार्फत अनुष्कालाई सहयोग गर्ने भएको छ।


यसैबीच एनआरएन यूकेका महिला पदाधिकारीहरूले मिस नेपाल अनुष्कासँग लन्डनमा भेटघाट गरेका छन्। एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङ र महिला संयोजक प्रसुना कँडेलले अनुष्कासँगको भेटमा एनआरएनको तर्फबाट पूर्ण सहयोग रहने बताएका थिए।

विश्वभरका नेपालीको साथ र हौसलाले उत्साहित अनुष्काले मिस वर्ल्ड जिताउन सबै नेपालीले आ(आफनो ठाउँबाट सक्दो सहयोग गर्ने आशा गरेको बताएकी थिइन्।

एनआरएन यूकेकी महिला संयोजक प्रसुना कँडेलका अनुसार गैरआवासीय नेपाली संघ बेलायतले यहाँस्थित नेपाली समुदायसँग अनुष्काको भेटघाट कार्यक्रमको आयोजना गर्ने सम्बन्धमा समेत छलफल भएको थियो।