१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालमा चिनियाँ बैंकका शाखा खोल्न पहल

sarusaru
९ मंसिर २०७६, सोमबार ०४:३६

काठमाडौं : अर्थ मन्त्रालयले नेपालमा चिनियाँ वाणिज्य बैंकका शाखा खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ। चीनसँग भएको सहमति कार्यान्वयन गराउन अर्थले केन्द्रीय बैंकलाई आइतबार पत्राचार गरेको हो।

गत कात्तिक ७ मा नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को नवौं बैठकमा दुई पक्षबीच १२ बुँदे सहमति भएको थियो। त्यसमा एकआपसमा वाणिज्य बैंकका शाखा खोल्ने उल्लेख छ।

चिनियाँ पक्षले गरेको प्रस्तावमा सहमति जनाउँदै नेपालले चिनियाँ वाणिज्य बैंक खोल्न अनुमति दिन बताएको थियो। नेपाल पक्षले वैदेशिक बैंकलाई नेपालमा शाखा खोल्न दिने पर्याप्त व्यवस्था भएको जानकारीसमेत गराएको थियो। दुवै पक्षबीच केन्द्रीय बैंक तथा वाणिज्य बैंकका शाखा कार्यालय खोल्नेमा सहमति भएको थियो।

नेपाल र तिब्बतको समय दुई घण्टा फरक पर्दा भन्सारमा काम गर्न असहज भएपछि एउटै समय तय गर्ने समझदारी भएको छ। नेपाल–तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को बैठकले नेपालको बिहानको ८ बजेको समय र तिब्बतको १० बजेको समयलाई एउटै मान्ने गरी समझदारी गरेको हो। अक्टोबर २४ मा भएको समझदारीअनुसार तिब्बततर्फको भन्सार खुल्ने समय बेइजिङको १० बजे र नेपाली ८ बजेलाई एउटै रूपमा लिने सहमति भएको हो।

नेपाल र तिब्बतको समय दुई घण्टाभन्दा बढी फरक रहेकाले यता भन्सार सुरु हुँदा तिब्बततर्फ खाजा खाने समय हुने र उता सुरु हुँदा यता खाजा खाने समय हुने कारण भन्सारमा समस्या देखिएपछि समयमा एकरूपता हुने गरी सम्झौता गरिएको हो।

झांग्मु तातोपानी भन्सार नाकाबाट आयात तथा निर्यात गर्दा दुवै देशका भन्सारबीच अनलाइन सफ्टवेयर सञ्जाल विकास गर्न नेपालले चिनियाँ पक्षलाई आग्रह गरेको थियो। तिब्बतले नेपालको अनुरोधलाई स्वीकार्दै यसलाई दुई देशको कूटनीतिक माध्यमबाट ल्याउन अनुरोध गरेको थियो।

यस्तै दुई देशका भन्सारबीच अनलाइन सञ्जालका लागि नेपालले गरेको आग्रहलाई सम्मान गर्दै तिब्बतले यसमा अर्को चरणको बैठकमा विस्तृत तलफल गर्न भनेको छ। यसो भए ल्हासा भन्सारले भन्सार सामान्य प्रशासनमा निवेदन गर्न सक्नेछ। नेपालले चीनको तिब्बतलाई नेपालको सम्बन्धित पक्ष क्वारेन्टाइनसँग सम्बन्धित पशु र वनस्पति क्वारेन्टाइन, खाद्य निरीक्षण, वस्तु निरीक्षणलगायत विषय अर्को चरणको बैठकमा छलफलका लागि सहभागी हुन भनेकामा ल्हासा भन्सारले सहमति जनाएको छ।

नेपालले चीनको तिब्बतलाई जडीबुटीको सूची तयार गर्ने काम भइरहेको, कृषिजन्य र पशुजन्य उत्पादन कूटनीतिक माध्यमबाट चीनको तिब्बतमा पठाउने गरी तयारी गरिरहेको जानकारी दिएको थियो। यसको लागि तिब्बतले क्वारेन्टाइन परीक्षण मापदण्ड तयार गरी नेपाललाई पठाउने बताएको छ।

दुवै पक्षले आयात तथा निर्यात गरिने वस्तुका लागि आवश्यक नियम र कानुन निर्माण गर्नसमेत सहमति जनाएका थिए। चीनको तिब्बतले नेपालका सम्बन्धित क्षेत्रका सरकारी अधिकारीलाई ‘युनिफर्म फाइलिङ मेकानिजम’ चिनियाँ ऐन तथा नियमअनुसार कार्यान्वयनका लागि अनुरोध गरेको थियो। यसलाई नेपाली पक्षले अध्ययन अनुसन्धान गरेर जानकारी दिने बताएको छ।

तिब्बतले नेपालबाट झांग्मु भन्सारमा भन्सार पुनः सञ्चालनमा आएयता कुनै पनि वस्तु आयात नभएको र यसको कारण ‘कोदारी बोर्डर कार्गो इन्स्पेक्सन’ पूर्ण रूपले सञ्चालनमा नहुनु भएकाले नेपाललाई सबै प्रारम्भिक कार्य कोदारी बोर्डर कार्गो इन्स्पेक्सन स्टेसनमा गर्न सुझाव दिएको छ। नेपालले नेपाली भन्सार कार्यालयले जुनसुकै बेला भन्सार घोषणा गर्न सक्ने तर कोदारीमै भन्सार क्लियरेन्स अहिलेलाई दिन नसक्ने बताएको छ।

चीनको तिब्बतले आवतजावतको लागि प्रिफरेन्सियल नीतिबारे समेत उक्त बैठकमा बताएको थियो। यसमा झांग्मु बन्दरगाहमा अहिलेलाई कार्गो माध्यममात्रै खुलेको तिब्बतले जनाएको उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी गराएको छ।

चीनको तिब्बतले नेपाललाई आफूतिरको पूर्वाधार संरचना निर्माणको प्रगति अवस्था जानकारी गराउँदै नेपालतिरको संरचना निर्माणलाई तीव्रता दिन अनुरोध गरेको थियो। नेपालले आफ्नो भूमितर्फ संरचना निर्माणमा चीन (तिब्बत)लाई सहयोग गर्न भनेको थियो। यसका लागि आवश्यक विषय कूटनीतिक तवरबाट पेस गर्न तिब्बतले आग्रह गरेको टोलीले जनाएको थियो।

यस्तै, चीनको तिब्बतले मितेरी पुल पुनर्निर्माण आयोजनाका लागि ५०० क्युबिक मिटर ब्याकफिल गर्नुपर्ने सामग्री आवश्यक रहेको र ती सामग्री नेपालबाटै किन्न सुझाव दिएको थियो। नेपालले त्यसमा सहमति जनाउँदै निर्माणमा इच्छुक कम्पनीसँग छलफल गरेर यसलाई समाधान गर्न सहमत भएको थियो।

तिब्बतले नेपाललाई फोन तथा विद्युत्का पोल रसुवागढी–स्याफ्रुबेसी सडक किनाराबाट हटाउन र सडक निर्माणलाई गति दिन आग्रह गरेकामा त्यसमा सहकार्य गर्न नेपाल सहमत रहेको दुई पक्षबीच भएको अन्तिम बुँदामा उल्लेख छ।
अन्नपूर्ण पोष्ट