१३ बैशाख २०८१, बिहीबार
Follow Us

बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार

sarusaru
९ मंसिर २०७६, सोमबार ०४:४२

काठमाडौँ — २१ महिनासम्म मन्त्रीमा बहाल हुँदा नेकपा स्थायी समिति सदस्य थममाया थापाले जरुरी परेका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाइनन् । अपर्झट पर्दा उनले प्रधानमन्त्रीको सचिवालयमा ‘भेट्नैपर्ने छ’ भनेर खबर त गर्थिन् । सकारात्मक जवाफ आक्कलझुक्कल मात्रै पाउँथिन् । सरकारबाट बुधबार बाहिरिएकी उनको प्रधानमन्त्रीसँग सबैभन्दा ठूलो गुनासो छ, ‘प्रधानमन्त्रीबाट सल्लाह र निर्देशन पाइनँ ।’

रात्रिभोजपछि सामुहिक तस्बिर खिचाउँदै प्रधानमन्त्री, मन्त्री र पूर्वमन्त्री । तस्बिर : उपप्रधानमन्त्री ईश्वर पोखरेलको फेसबुक

यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भएर वाहवाही कमाएका लालबाबु पण्डितको दुःख पनि थापाको भन्दा कम छैन । उनी मुलुकको संघीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्ने अभिभारासहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका थिए । प्रधानमन्त्रीको चाहनाअनुसार उनले काम गर्न सकेनन् या उनको चाहनाअनुसार कर्मचारीतन्त्र चल्न सकेन, खुटिएको छैन । आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा मन्त्री बन्दा भने उनले असहज महसुस गरे ।

कान्तिपुरसँग आइतबार साँझ सम्पर्कमा आएका पण्डित मन्त्री निवासबाट भर्खरै सरेको डेरामा सामान मिलाउँदै थिए भने थापाले सोमबार मन्त्री निवास छाड्ने तयारीसहित पोकापन्तुरा मिलाउँदै थिइन् ।उनीहरू दुवैलाई एउटै प्रश्न थियो– शनिबार प्रधानमन्त्री निवासबाट केही निम्तो आएको थियो ?

थापाले अनौपचारिक रूपमा खबर आए पनि आफू सामान मिलाउनमै व्यस्त रहेकाले प्रधानमन्त्रीको निम्तो मान्न जान नसकेको जानकारी दिइन् । पण्डितले पनि आफू थप एक/दुई दिन व्यस्त रहने प्रतिक्रिया दिए । ‘प्रधानमन्त्री कार्यालयबाट आएको निम्तोबारे मलाई थाहा छैन,’ उनले भने, ‘म दुई दिन जति कोठा मिलाउने काममै व्यस्त हुन्छु ।’

थापा र पण्डित मात्रै होइन, रघुवीर महासेठबाहेक बर्खास्तीमा परेका मन्त्री पनि रात्रिभोजमा अनुपस्थित रहे । तिनैमध्ये एक पूर्वमन्त्रीले आत्मसम्मानका लागि राजनीति गर्नेहरूलाई खान बोलाएर फकाउन खोज्नुको अर्थ नहुने प्रतिक्रिया दिए । आफूहरूलाई प्रधानमन्त्रीले खुवाउने खानामा कुनै रुचि नभएको उनले बताए । ‘प्रधानमन्त्रीज्यूकोमा डिनर भनेर बोलाइएको थियो, हाम्रो घरमा ‘भात’ पाकेको थियो,’ उनले भने, ‘डिनरमा रुचि थिएन, त्यसैले गइएन ।’
पूर्वउद्योगमन्त्री मातृका यादव र कृषि राज्यमन्त्रीबाट पदमुक्त भएकी रामकुमारी चौधरीले पनि आफूहरूलाई निम्तो आए पनि फुर्सद नभएका कारण जान नसकिएको बताए । यादवले त आफूलाई जान मिल्ने अवस्था नभएको भन्दै यस विषयमा थप नसोध्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले जिम्मेवारीमुक्त भएका, नवनियुक्त र बहालवाला मन्त्रीहरूका लागि रात्रिभोज आयोजना गरेर उनीहरूलाई दम्पतीसहित आउन निम्तो दिएका थिए । बेलुका ६ बजेतिर सुरु भएको भोज राति ८ बजे सकिएको थियो । भोजमा काठमाडौंमा नभएकाबाहेक सबै बहालवाला मन्त्री दम्पतीसहित गएका थिए । ‘मन्त्रीहरूबीच आपसी चिनजान त थियो,’ रात्रिभोजमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, ‘मन्त्रीका श्रीमतीहरूले पनि आपसमा चिनजान गर्नुभयो ।’ सबैबीच चिनजान र मित्रता कायम रहोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीले भोज राखेको उनले बताए ।

भोजमा लोकल कुखुराको मासु र मेथीको दाललाई विशेष परिकारका रूपमा राखिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । प्रधानमन्त्रीपत्नी राधिका शाक्यले मेथीको दाल बनाउने तरिका र त्यसबाट हुने फाइदाबारे बताएको ती सदस्यले बताए । प्रधानमन्त्री ओलीले विभिन्न अवसरमा यस्ताखाले कार्यक्रम आयोजना गर्दै आए पनि मन्त्रीहरूका परिवारसहितको कार्यक्रम राखेको पहिलो पटक हो ।
कान्तिपुर