१५ चैत्र २०८०, बिहीबार
Follow Us

जर्मनीको संग्रहालयबाट चोरिए बहुमूल्य गहना

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७६, बुधबार ०१:१८

बर्लिन — पूर्वी जर्मनीको एक विश्वप्रसिद्ध संग्रहालयबाट बहुमूल्य गहना चोरी भएका छन् । अधिकारीहरुले सन् १७२३ मा ‘अगस्टस द्वितीय द स्ट्रोङ’ को शासनकालका बहुमुल्य गहना टुक्राएर बेचिन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

स्याक्सोनी राज्यको निकै सुरक्षित मानिने ‘ड्रेसडेन ग्रिन भल्ट’ बाट चोरिएका गहनाको बहुमुल्य रहेका बताइएको छ ।

दुईजना चोरले संग्रहालयमा राखिएका दशमध्ये तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेका हुन् । अधिकारीका अनुसार अन्य ७ वटालाई भने चोरले छोएका पनि थिएनन् । प्रहरीले घटनापछि खोजी तथा अनुसन्धान कार्य तीव्र पारेको जनाएपनि गहना भेटिनेमा आशंका पैदा भएको जनाइएको छ ।


संग्रहालय प्रमुखले गहनाको मूल्य तोक्नै नसकिने तथा तिनको निकै ठूलो सांस्कृतिक मूल्य भएको बताएकी छन् । तर जर्मन सञ्चारमाध्यमले तिनको मूल्य करिब एक अर्ब युरो अर्थात् एक खर्ब २६ अर्ब रुपैयाँ जति हुने उल्लेख गरेका छन् ।

‘दशमध्ये हीराका तीन थान गहना हराएका छन्,’ ड्रेस्डेन कला संग्रहालयका प्रमुख म्यारियन एकेर्मनले भनिन् । ग्रीन भल्टबाट चोरी भएका गहनामा केही मणि, पन्ना तथा नीलमणी छन् । प्रहरीले चोरी भएका गहनाका तस्बिरहरु सार्वजनिक गर्दै कसैले देखेमा खबर गर्न आग्रह गरेको छ ।

‘चोरी भएका गहना केही हदसम्म स्याक्सोनीका राजाको श्रीपेचका भाग हुन्,’ स्याक्सोनीका कलामन्त्री इभा मारियाले भनिन्, ‘ती स्याक्सोनीको इतिहास र संस्कृतिसँग सम्बन्धीत छन् ।’

चोरी भएका प्रत्येक गहनामा ३७ भाग छन् । एकाबिहानै चोरहरू संग्राहलयमा कसरी पुगे भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् । सुरक्षा क्यामराले दुई सन्दिग्ध व्यक्तिलाई खिचेको भिडियोमा देखिएपनि प्रहरीले हालसम्म कसैलाई पक्राउ गरेको छैन् । यद्यपि, चोरीमा अन्य मानिसको समेत संलग्नता भएको हुनसक्ने बताइएको छ ।

कसरी भयो चोरी ?

संग्रहालयबाट बहुमूल्य गहना चोरी गर्नेहरू अझै फरार छन् । दुई व्यक्तिले संग्रहालयको पहिलो तलामा रहेको भल्टबाट गहना चोरेका हुन् ।

अधिकारीका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ५ बजेतिर चोरहरुले संग्रहालयको झ्यालमा लगाइएको सीसा फोड्नुका साथै फलामे ग्रील निकालेर भित्र पसेका थिए ।

अधिकारीका अनुसार चोरीको समय संग्रहालयको नजिकै रहेको बिजुलीको जक्सन बक्समा आगालागी समेत भएको थियो । आगो निभाउन दमकल बोलाइएपछि त्यहाँ रहेका कपितयको ध्यान त्यता गएको समयमा चोरी संग्रहालयमा पसेका अनुमान गरिएको छ ।

अधिकारीहरुले आगलागीका कारण संग्रहालयको आपत्कालीन सूचना दिने अलार्मले काम नगरेको अनुमान गरेका छन् । तर प्रहरीले चोरीको योजनाअनुसार आगो लगाइएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको जनाएको छ ।