१३ बैशाख २०८१, बिहीबार
Follow Us

उप-निर्वाचनको लागि निर्वाचन सामाग्री पठाइयो

sarusaru
११ मंसिर २०७६, बुधबार ०४:३४

बागलुङ- गण्डकी प्रदेशसभाको उपनिर्वाचनका लागि अन्तिम तयारी स्वरुप निर्वाचन सामाग्री पठाउने काम थालिएको छ । मंगलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सबै कर्मचारी खटनपटक सकिएको छ । त्यस्तै कर्मचारीले लैजानुपर्ने निर्वाचन सामाग्री पनि लगिसकेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।
मंगलवार जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सबै प्रकारका सामान, मतपत्र, मतदानका लागि बाकस समेत बुझेर लगेका हुन् । उनीहरुले बुधवार बेलुकी सम्म सबै मतदान केन्द्रमा पुग्ने योजना बनाएका छन् । कतिपय मंगलवारै हिडेका छन् भने केहीले बुधवार मात्र हिड्ने योजना बनाएको बताए ।
निर्वाचनमा खटाएका कर्मचारीलाई दिनुपर्ने भत्ता निकासामा ढीलाई भएपछि कतिपय कर्मचारी समयमा काममा निस्कन सकेका थिएनन् । मंगलवार बिहान १० बजेनै बोलाएपनि पैसा अभावले दिउसो १ बजेपछि मात्र पैसा बुझाउन सकिएको थियो । सदरमुकाम देखि १ सय ४२ किमी पश्चिम सम्म खटाउनु परेपछि मंगलवारदेखिकै भत्ता दिएर पठाउनुपर्ने भएकोले महंगो भएको मुख्य निर्वाचन अधिकृत बासुदेव रेग्मीले बताए । निर्वाचन आयोगले भने सदरमुकाम आसपासको भूगोलझै महसुस गरेर थोरै दिनको खर्च मात्र पठाएपछि कर्मचारीहरुमा निरासा थपिएको थियो । कतिपयले थोरै भएपनि काम चलाउने भनेका थिए भने कतिपय कर्मचारीले जोखिम मोलेर काम गर्नु परेपनि सोचेजती भत्ता नपाएको गुनासो समेत गरेका थिए ।
मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार निर्वाचनका ४५ वटा केन्द्रका लागि २ सय १५ कर्मचारी खटाइएको छ । त्यतिनै प्रहरी र सशष्त्र प्रहरी समेत खटाइएको बताइएको छ । सुरक्षाको संवेदनशिलता हेरेर थप सुरक्षाको व्यवस्थापन समेत भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । बाहिरी सुरक्षा घेरामा भने नेपाली सेना खटिएको छ ।
मंगलवारै प्रजिअ क्षेत्रीले विज्ञप्ती प्रकाशित गरेर निर्वाचन हुने क्षेत्रमा बुधवार बेलुकी १२ बजेपछि मौन अवधि सुरु हुने भएकोले प्रचारका काम रोक्न भनेका छन् । साथै सबै दलहरुले प्रचार रोकेपछि निर्वाचनका लागि खटिएका कर्मचारीले आफ्नो काम थाल्ने बताइएको छ । मतदान केन्द्र बनाउने, मतदाता परिचयपत्र वितरण गर्ने र मतदान केन्द्रको सुरक्षा गर्ने समेतको काम हुनेछ । निर्वाचनको दिन भने सुरक्षाकर्मीको सवारी, निर्वाचन सामाग्री बोकेका सवारी र अनुमति लिएका सवारी मात्र चल्न पाउने व्यवस्था गरिएको छ । निर्वाचनको दिन बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म गलकोट स्थित भैसेको पुलदेखि पश्चिम क्षेत्रमा सवारी साधन चल्न नपाउने व्यवस्था गरिएको समेत बिज्ञप्तीमा जनाइएको छ ।
जनमञ्च