७ बैशाख २०८१, शुक्रबार
Follow Us

गेसोद्वारा युद्वबन्दीको मुद्दा जितेको दिनको सम्झना

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७६, बुधबार १४:५८

दोस्रो विश्वयुद्वमा युद्वबन्दीको मुद्दा जितेको ऐतिहासिक दिनको सम्झनामा गोरखा भुतपूर्व सैनिक संघ (गेसो) ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ।

गेसो केन्द्रीय कार्यलय ललितपुरमा बुधबार युद्वबन्दीको मुद्दा जितेको दिनको स्मरण गर्दै धुप बात्ती बालेर मनाएको छ।

सन् २००२ नोभेम्बर २७ आजकै दिन बेलायतको उच्च अदालतले गोर्खा युद्वबन्दीको पक्षमा फैसला सुनाउँदै क्षतिपूर्तिस्वरूप १० हजार पाउण्ड दिने निर्णय गरेको थियो।
गेसोले बेलायतको उच्च अदालतमा मे ८, २००२ मा युद्वबन्दीको विषयमा मुद्दा दायर गरेको थियो।

बिबिसीका अनुसार श्री न्यायमूर्ति म्याककमले गोर्खाहरूलाई क्षतिपूर्ति योजनाबाट हटाउने निर्णय “तर्कहीन र जातीय दुवै” भएको भन्दै युद्वबन्दीको पक्षमा फैसला सुनाएको थियो।

‘गोर्खाहरुसँग नश्लवादको आधारमा ब्रिटिश साम्राज्यका अन्य देशको सैनिकभन्दा फरक व्यवहार गरिएको थियो’, न्यायमूर्तिले फैसला सुनाएको समाचारमा उल्लेख छ।

गोर्खाको पक्षबाट वकालत गरेका जनहित पक्षका सोलिसिटर फिल शिनरले प्रेस्टन क्राउन अदालतमा गोर्खाहरूको जितको घोषणा गर्दै भने: “गोर्खाहरूले बेलायतप्रति आफ्नो वफादारी र समर्पण प्रमाणित गर्न पर्याप्त लडाई लडेका थिए।”

प्रथम विश्वयुद्वमा मात्रै करिब २ लाख गोर्खाले भाग लिएका थिए। जसमा २० हजार नेपाली गोर्खाले ज्यान गुमाएका थिए।

त्यसैगरी दोस्रो विश्वयुद्ध २ लाख ५० हजार गोर्खाको सहभागिता थियो। जसमा ७ हजार ५ सय ४४ जनाले ज्यान गुमाएका थिए भने १ हजार ४ सय ४१ जना हराइरहेका छन्।

गेसो सभापति कृष्ण कुमार राईले उक्त मुद्दा गोर्खाले जितेको दिनको सम्झना गर्दै, गोर्खाहरुप्रति बेलायतले गरेको भेदभाव विरूद्द लडेको ऐतिहासिक जित भएको बताए।

प्रत्येक वर्ष प्रतिकात्मक रुपमा यस दिनलाई सम्झना गर्दै आएको भन्दै राईले बेलायतमा समेत गेसोले ठूलो कार्यक्रमसहित कार्यक्रम गरेको जानकारी दिए।

गोर्खा सैनिक पुर्खाहरुको सम्झना गर्दै आशिर्वाद लिएर चौतर्फि षड्यन्त्रको पर्दाफास गर्दै गोर्खाको हक र हितको लागि गेसोले निरन्तर अभियान चलाइरहेको दाबी गरे।


बेलायती साम्राज्यमा गोर्खा सैनिकको रूपमा कार्रयत रहेको २०० वर्ष लामो ईतिहास छ।