१२ बैशाख २०८१, बुधबार
Follow Us

तेक्वान्दोमा बेलायतमा दुई नेपालीले जिते स्वर्ण पदक

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७६, बुधबार १६:०७

जगन कार्की । लण्डन । दुई नेपाली तेक्वान्दो खेलाडीले ब्रिटिश तेक्वान्दो ओपन २०१९ मा स्वर्ण पदक जितेका छन् । मकाउ बसोबास गर्दै आएका राजु नगरकोटी र सञ्जिव नेपालीले म्यानचेस्टरमा सम्पन्न ब्रिटिश तेक्वान्दो ओपनको पुम्सेमा स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थ बिक्रम क्षेत्रीले जानकारी दिए ।

नगरकोटी र नेपालीले पुम्से तेक्वान्दोमा क्रमसः ५० बर्ष र ४० वर्ष उमेर समूहका बिजेता बनेका हुन् ।

ब्रिटिश ओपन तेक्वान्दोमा नेपालसहित इग्ल्यान्ड, आयरल्यान्ड, फिनल्यान्ड, ग्रिस, इटाली, जोडर्न, स्पेन, भारत र आयसल्यान्डका खेलाडीको सहभागिता रहेको बताइएको छ ।

शनिबार र आइतबार भएको ब्रिटिश तेक्वान्दो ओपनको पुम्से ५० वर्ष मूनिको समूहमा राजुले स्वर्ण पदक जितेका हुन् । त्यस्तै सञ्जिले ४० वर्ष मूनिको समूहमा पहिलो स्थान प्राप्त गरेका हुन् । अंकका आधारमा पुम्सेको विजेता छुट्टान्छ ।

अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि तेक्वान्दोको पुम्से समावेश छ । सागमा पहिलो पटक पुम्से समावेश गरिएको छ । सागको तेक्वान्दो पुम्सेमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

“नेपाली खेलाडीहरु आफ्नै पहलले बेलायत आएर स्वर्ण पदक जित्नु आफैमा गर्वको कुरा छ यसमा बिश्वभर छरीएर रहेका नेपालीहरुको लागि गर्वको कुरा छ ” भन्दै नेपाली राष्ट्रिय तथा अन्तरास्ट्रीय खेलाडी संघ बेलायतका अद्यक्षले एक सम्मान कार्यक्रमको आयोजना गर्दै बधाई ज्ञापन गरेका थिए ।

बेलायतको साउथ ह्यारो स्थित माया पबमा आयोजित कार्यक्रममा संघका बरिस्ट उपाद्यक्ष सुरज कार्कीले मातृभूमिको नाम अन्तरास्ट्रीय रुपमा राख्ने खेलाडीहरु नै वास्तवमा देशका सच्चा सपुत हुन् । सरकार , सम्बन्धित निकाय लगायत गैर आवासीय नेपाली संघले पनि यो अमुल्य योगदानको कदर गर्नुपर्ने विचार ब्यक्त गरेका थिए ।