६ बैशाख २०८१, बिहीबार
Follow Us

स्विट्जरल्याण्डमा लाग्यो ‘गो ब्याक इन्डिया’को नारा

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७६, बुधबार १६:२७

बर्न। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि स्विट्जरल्याण्डमा रहेका नेपालीले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रेका छन्।

नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि उनीहरूले मंगलबार राजधानी बर्नस्थित भारतीय दूतावास अगाडि सीमा अतिक्रमणको विरोध गरेका हुन्।

गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मंच तथा जनसम्पर्क समिति स्विट्जरल्याण्डको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो । प्रर्दशनमाा स्विट्जरल्याण्डका विभिन्न क्षेत्रमा बसोबास गर्नै नेपाली तथा स्विस नागरिकको पनि सहभागी थिए।

प्रहरीको प्रत्यक्ष निगरानीमा भएको उक्त विरोध प्रदर्शनमा नेपालको राष्ट्रिय झण्डासहित ‘सीमा अतिक्रमण बन्द गर’, ‘कालापानी लिपुलेक हाम्रो हो’, ‘गो ब्याक इन्डिया’ लगायतका नाराहरु रहेको प्लेकार्ड तथा ब्यानरहरू बोकिएको थियो।

विरोध सभामा एनआरएनए स्विट्जरल्याण्डक अध्यक्ष शिब कुमार सुब्बा, संस्थापक अध्यक्ष संजय मुडभरी, प्रवासी नेपाली एकता मंचका संयोजक अच्युत फुँयाल, जनसम्पर्क समिति स्विट्जरल्याण्डका उपाध्यक्ष प्रकाश पौडेल, बेर्न समाज स्विट्जरल्याण्डका अध्यक्ष विष्णु थापा, एनआरएनए आइसीसी सदस्य भुमि गुरुङ, एनआरएनए स्विसका पूर्वअध्यक्ष धर्म गुरुङ, पत्रकार युवराज फुँयाल, स्विस नागरिक समेतले मन्तव्य राखेका थिए ।

झण्डै एक घण्टाको नारावाजीपछि स्थानीय प्रशासनको अनुमतिमा ५ जना प्रदर्शनकारी र दुईजना पत्रकारहरूलाई दूतावास अगाडि सम्म जान दिइएको थियो । उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्रसमेत पठाएका छन् ।

ज्ञापनपत्र प्रहरीलाई बुझाइएको थियो। प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत् उक्त ज्ञापनपत्र दूतावासमा बुझाइदिने बताएको छ ।