६ बैशाख २०८१, बिहीबार
Follow Us

उपचुनावका दिन जाँड रक्सीमा प्रतिबन्ध, बाहिरका मान्छेलाई प्रवेश निषेध

sarusaru
१२ मंसिर २०७६, बिहीबार १०:५६

चितवन । शनिबार चितवनका दुई स्थानीय तहका तीनवटा वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका वडा नं १६ र पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको जिल्लास्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

जिल्लामा कुल १५ पद रिक्त रहे पनि तीन वडाध्यक्षका लागि मात्रै निर्वाचन गर्न लागिएको हो । १४ पद मध्ये जिल्ला समन्वय समितिमा निर्वाचन ९ जनाको पद रिक्त छ भने दलित ३ पदमा उम्मेदवारी नै परेको छैन ।

गए राति १२ बजेबाट निर्वाचन हुने वडामा मौन अवधि सुरु भएको कार्यालयका प्रमुख हरि ढकालले बताए । प्रमुख ढकालका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु निर्वाचनका हरेक केन्द्रमा खटिइसकेका छन् ।

जिल्लाबाट ७५ जना कर्मचारी छनोट गरी तालिम दिएर पठाइएको र केन्द्रमा आवश्यक थप ६० जना स्वयंसेवक नियुक्त गरिएको ढकालले बताए ।

मतदान केन्द्रमा निर्वाचनसम्बन्धी जानकारीको सूचना टाँस गरिएको छ । ढकालले बिहीबार र शुक्रबार केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिने बताए । उनी भन्छन् ‘मतपत्रहरु शुक्रबार बुझ्नुहुन्छ, अरु सबै तयारीका सामानहरु मतदानस्थलसम्म पुगिसके ।’

जिल्लाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत हेमन्त रावल नियुक्त भएका छन् । उनले भरतपुर महानगरपालिका-१६ को निर्वाचनसमेत हेर्नेछन् । खैरहनीका लागि निर्वाचन अधिकृत विद्याराज पौडेललाई नियुक्त गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालका अनुसार निर्वाचन हुने वडामा मंसिर १४ गते शनिबार विदा दिइएको बताए ।

निर्वाचन क्षेत्रका लागि सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । निर्वाचनको दिन वडामा प्रवेश गर्ने मुख्य तथा सहायक सडकहरूमा सुरक्षाकर्मी राखेर वडावासीभन्दा बाहेकलाई प्रवेश नदिइने उनले बताए ।

शनिबार हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै चितवनका तीन वडामा मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै निर्वाचन हुने तीन वडामा मदिराको व्यापारमा रोक लगाएको जनाएको छ ।

तीनवटै वडा तथा वडा सीमानाको ५०० मिटर वरिपरीसम्म मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । उपनिर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निर्वाचन हुने वडाहरुमा मंसिर १३ गते बेलुका ६ बजेबाट १४ गते बेलुका ८ बजेसम्म पाँच जनाभन्दा बढी हिँडडुुल गर्न पनि रोक लगाएको छ ।

तीनवटा बडामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । यी तीनवटै वडामा हुने उपनिर्वाचनमा १३ हजार ३ सय ४२ जनाले मतदान गर्ने छन् ।

तीनवटा वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा छन् ।

भरतपुर महानगरपालिका वडा न १६

०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा यो वडाबाट तत्कालीन नेकपा एमालेका उम्मेदवार चतुरमान गुरुङ विजयी भएका थिए । उनको क्यान्सर रोगका कारण गत असोज ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । नेपाल कम्युनिष्ट पार्टीले भक्तराज हमाल र कांग्रेसले अमृत हमाललाई वडाध्यक्ष उम्मेदवार बनाएका छन् । अमृत अघिल्लो चुनावमा वडाध्यक्षका प्रत्यासी बनेर पराजित बनेका थिए । राष्ट्रिय नागरिक पार्टीबाट धनप्रसाद घले, समाजवादी पार्टीबाट अमरबहादुर थापा र राप्रपा संयुक्तबाट बिष्णु त्रिपाठी उम्मेदवार छन् ।

भरतपुर -१६ मा तीनवटा मतदानस्थल र १० मतदान केन्द्र रहने छन् । वडा कार्यालयमा रहने मतदानस्थलमा दुई मतदान केन्द्र हुनेछन् । यहाँ १ हजार ४ सय २२ मतदाता छन् । यस्तैं, दुर्गा शेषकान्त मावि विजय नगर मतदानस्थलमा ४ मतदान केन्द्र रहनेछन् । यहाँ ३ हजार ५ सय मतदाता छन् । मावि ढड्डाघारी मतदानस्थलमा ४ मतदान केन्द्र रहनेछन् । यहाँ ३ हजार ५ सय ५९ मतदाता छन् । भरतपुर-१६ मा ८ हजार ४ सय ८१ जना मतदाता छन् ।

खैरहनी वडा नं ४

२०७४ फागुन ६ गते साँझ रत्ननगर नगरपालिका-३ शान्तिचोकमा तरकारी बोक्ने पिकअप भ्यानले ठक्कर दिँदा खैरहनी नगरपालिकाको जीपमा सवार वडा नं ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारीको निधन भएको थियो । वडाध्यक्षको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । निधन भएका अधिकारी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए । यस वडामा ४ जनाको उम्मेदवारी परेको छ । नेकपाले बेदबहादुर अधिकारी र कांग्रेसले देवबहादुर बस्नेतलाई उम्मेदवार बनाएका छन् । राप्रपाबाट अनोज अधिकारी र राप्रपा संयुक्तबाट सिताराम थारु उम्मेदवार छन् ।

खैरहनी नगरपालिका वडा नं ४ मा दुई मतदानस्थल र ३ वटा केन्द्र रहने छन् । जनएकता आधारभूत विद्यालय हात्तीलेवटमा दुई केन्द्र रहने छन् । यहाँ मतदाता १६ सय २ छन् । राप्रावि कुनाघारीमा एक मात्रैं मतदान केन्द्र रहनेछ । यहाँ १ हजार ९० जना मतदाता छन् । खैरहनी-४ मा २ हजार ६ सय ९२ मतदाता छन् ।

खैरहनी वडा नं ५

वडा नं ४ का वडाध्यक्ष नरेन्द्र अधिकारीसँगै सवारी दुर्घटनामा ज्यान गुमाएका थिए, वडा नं ५ का वडा अध्यक्ष विश्वविजय वस्नेतले पनि । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए । मंसिर १४ गते हुने उपनिर्वाचनमा यस वडामा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाले पुनः नारायण प्रधानलाई र कांग्रेसले विश्वविजय वस्नेतकी श्रीमती प्रतिमा बस्नेतलाई उम्मेदवार बनाएको छ । प्रधान र वस्नेतका वीचमा कडा प्रतिस्पर्धा हुने अनुमान छ । यस वडामा नागरिक पार्टीबाट बलवीर चौधरी र समाजवादी पार्टीबाट विकल महतो थारु उम्मेदवार बनेका छन् ।

वडा नं. ५ मा राप्रावि सलौली एक मात्र मतदानस्थल तोकिएको छ । यहाँ रहने दुई केन्द्रमा २ हजार १६१ मतदाताले मताधिकार प्रयोग गर्न सक्ने जिल्ला निवर्नाचन कार्यालयका चितवनका प्रमुख हरि ढकालले बताए ।

२०७४ सालमा भएको स्थानीयको निर्वाचनमा खैरहनी नगरपालिकाका वडा नं ४ र ५ मा कांग्रेसका उम्मेदवारहरुले जितेका थिए भने भरतपुर १६ मा तत्कालीन एमाले उम्मेदवारले जितेका थिए ।
अनलाइन खबर