१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महाअभियोग सिफारिस समितिको कार्यविधि तयार

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७३, बिहीबार ०६:४५

काठमाडौं । व्यवस्थापिका संसदको महाभियोग सिफारिस समितिले आफ्नो कार्यविधि तयार पारेको छ । आज सिंहदरवारमा बसेको सिफारिस समितिको बैठकले सम्वन्धित व्यक्तिको घरमा खानतलासी गर्न सक्ने व्यवस्थासहित आफ्नो कार्यविधि पास गरेको हो ।
कार्यविधि बनेसंगै संसदको महाअभियोग सिफारिस समितिले अभियोग लागेका व्यक्तिमाथि छानविनका क्रममा उनको घर तथा कार्यालयमा खानतलासी गर्न सक्ने भएको छ । संसदमा अहिले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव विचाराधीन छ । संसदको पूर्ण बैठकमा सैद्धान्तिक छलफल सकिएछि महाअभियोग सिफारिस समितिमा जानेछ ।
त्यसअघि समितिले आफ्नो कार्यविधि पास गरेको छ । कार्यविधि अनुसार अभियोग लागेका व्यक्तिलाई सात दिनको समय दिएर सनाखतका लागि बोलाइनेछ । यो समयमा नआए फेरि ७ दिन दिइनेछ र, यो समयमा पनि उपस्थित नभए अभियोग स्वतः प्रमाणित हुनेछ । आरोपितलाई सफाईको मौका दिने र आरोपितको बयान सुनेर आवश्यक अनुसन्धान गर्नुपर्ने भए सम्बन्धित व्यक्तिलाई बोलाएर बयान लिने, बकपत्र गराउने लगायत अधिकार कार्यविधिमा राखिएको छ ।
समितिले व्यवस्थापिका संसदलाई पठाउने प्रतिवेदन सकभर सर्वसम्मति र नभएको अवस्थामा सामान्य बहुमतको आधारमा गर्ने विधि तय गरेको छ । साथै अध्यक्ष नभए सदस्यले सनाखत गर्न सक्ने वा यो अधिकारलाई सचिवलाई पनि दिनसक्ने व्यवस्था गरिएको छ ।