८ बैशाख २०८१, शनिबार
Follow Us

सागः देशको नेतृत्व गर्दै राष्ट्रिय झण्डा बोक्ने अवसर पारसलाई

sarusaru
१३ मंसिर २०७६, शुक्रबार ०४:४६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटनका क्रममा हुने मार्चपासमा देशको नेतृत्व गर्दै देशको राष्ट्रिय झण्डा बोक्ने अवसर राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई प्रदान गरिएको छ । यसैगरी सागको दीप प्रज्वलन गर्ने अवसर कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टलाई प्रदान गरिने भएको छ ।

यस्तो अवसर देशको लागि ठूलो योगदान पुर्याउने खेलाडीलाई प्रदान गरिन्छ । पारस खड्काले राष्ट्रिय टिमको नेतृत्व लिएपछि नेपालको राष्ट्रिय क्रिकेट टोली आइसीसीको डिभिजन पाँचबाट एकदिवसीय मान्यता प्राप्त राष्ट्रको हैसियतसम्म पुगेको छ । सन् २०१४ मा टि–२० विश्वकपमा पनि नेपालले पारस खड्काकै कप्तानीमा खेलेको थियो । बंगलादेशमा भएको यो खेलमा नेपालले निकै उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानलाई पराजित गरेको थियो । उनको यही योगदानको कदर गर्दै उनलाई देशको नेतृत्व गरेर झण्डा बोक्ने अवसर दिइएको हो ।

यसैगरी दीप प्रज्वलन गर्ने अवसर पाएका तेक्वान्दो खेलाडी दीपक बिष्ट नेपालका लागि सागमा सबैभन्दा धेरै स्वर्णपदक जित्ने खेलाडी हुन् । उनले सागमा चार पटक नेपालका लागि स्वर्णपदक जितेका छन् । सागको उद्घाटन आइतबार अपरान्ह ५ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । उद्घाटन सत्रमा १५ हजार कलाकारले संघीय नेपालको सातवटै प्रदेशको कला र संस्कृति झल्कने प्रस्तुति दिनेछन् ।
डिसी नेपाल