१५ चैत्र २०८०, बिहीबार
Follow Us

लेबरको ‘महत्वाकांक्षी’ घोषणापत्र

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७६, शुक्रबार ०५:०३

लण्डन । आउँदो डिसेम्बर महिनाको १२ तारिखको लागि तय बेलायतको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै प्रमुख विपक्षी लेबर पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

१ सय ५ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गर्दै पार्टीका नेता जेरेमी कोर्बिनले जनतालाई साँच्चीकै परिवर्तनको महसुस गराउने प्रतिबद्धता गरेका छन् ।

बिबिसीका अनुसार यो घोषणापत्र कार्यान्वयन हुँदाको अवस्थामा सन् २०२४ सम्ममा सरकारको वार्षिक खर्च ८३ विलियन पाउण्डले वृद्धि हुनेछ ।

घोषणापत्र बाहिरिएसंगै यसलाई निकै ‘महत्वाकांक्षी’ र ‘खर्चिलो’ भनेर टिप्पणी भइरहेका छन् । धनी र ठूला व्यवसायहरुको लागि कर बढाउने लेबरको रणनीति व्यवहारिक र सफल हुन्छ भन्नेमा पनि आशंका गरिएको छ ।

लेबरको घोषणापत्रमा स्वास्थ्य बजेट ४ दशमलव ३ प्रतिशतले बढाउने, ब्रेक्जिटको विषयमा अन्तिम निर्णय लिन दोस्रो जनमतसंग्रह गराउने, ठूला इनर्जी फर्महरुदेखि रोयल मेल, रेल सेवा, पानी उद्योग लगायतलाई राष्ट्रियकरण गर्ने, न्यूनतम ज्यालालाई बढाएर प्रतिघण्टा १० पाउण्ड बनाउने, युरोपेली मुलुकका नागरिकलाई बेलायतमै रहन दिने लगायतका योजनाहरु छन् ।

त्यस्तै, कटौति गरिएका ३ हजार बस रुटहरु पुनः सञ्चालनमा ल्याउने, डेढ लाख नयाँ काउन्सिल तथा सोसल होमका लागि ७५ विलियन पाउण्ड खर्च गर्ने, स्वास्थ्य, शिक्षासहितका सबै पब्लिक सेक्टरमा कार्यरत कर्मचारीको तलब तत्काल ५ प्रतिशतले बढाउने र हरेक वर्ष महंगीभन्दा बढि दरले तलब बढाउने लगायतका प्रतिबद्धता समावेश छन् ।