६ बैशाख २०८१, बिहीबार
Follow Us

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी आइतबार

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७६, शुक्रबार ०५:०६

लण्डन । विश्व अपांगता दिवसको अवसरमा बेलायतबासी गुल्मेलीहरुले यस वर्ष पनि एक च्यारिटी कार्यक्रम गर्ने तयारी गरेका छन् ।
परोपकारी कार्यहरुका कारण एक उदाहरणीय संस्थाका रुपमा स्थापित गुल्मी जिल्ला समाज यूकेले आउँदो डिसेम्बर १ आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा उक्त कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा अहिले बेलायतमै रहेका ख्यातिप्राप्त लोकदोहोरी कलाकारद्धय प्रसाद खप्तरी र खिमा रोकाले प्रस्तुति गर्ने जानकारी कार्यक्रमकी एक संयोजक समाजकी सचिव मञ्जु भण्डारीले दिइन् । त्यसअवसरमा प्रथम नौमती बाजा गुल्मी यूकेको विशेष प्रस्तुति रहनेछ भने केहि स्थानीय कलाकारले पनि नृत्यहरु देखाउनेछन् ।

कार्यक्रमको संयोजन गरिरहेका तथा अहिले अध्यक्षको अनुपस्थितिमा समाजका कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका उपाध्यक्ष राम सापकोटाका अनुसार यो च्यारिटी कार्यक्रमबाट संकलित कोषमध्ये केहि रकम तम्घासस्थित आशा अपांग केन्द्रलाई सहयोग गरिनेछ ।

बाँकी रकम अपांगता भएकाहरुको सहयोगमै खर्च गरिने भएपनि कसलाई सहयोग गर्ने भनेर निर्णय गरिसकिएको छैन । समाजले विश्व अपांगता दिवसका अवसरमा विगत १ दशकदेखि हरेक वर्ष च्यारिटी कार्यक्रम गर्दै आएको छ । जसबाट संकलित रकम समाजले आशा अपांग केन्द्र र अन्य सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

परोपकारको पवित्र उद्धेश्यले गर्न लागिएको कार्यक्रममा सहभागी बनेर सहयोग गरिदिन समाजले बेलायतको नेपाली समुदायलाई आग्रह गरेको छ ।