७ बैशाख २०८१, शुक्रबार
Follow Us

उपनिर्वाचन : बागलुङ, दाङ र चितवनमा मतदान जारी

sarusaru
१४ मंसिर २०७६, शनिबार ०२:३४

बागलुङ । बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ का मतदान केन्द्रमा आज बिहान ७ बजेदखि मतदान शुरु भएको छ । ४५ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए ।

प्रदेशसभा सदस्यको निर्वाचन हुने क्षेत्रमा ४३ र वडाध्यक्षको निर्वाचन हुने बडिगाड–२ मा दुई मतदान केन्द्र छन् । उत्साहपूर्वकरुपमा मतदाता मतदानमा सहभागी भएको ढोरपाटन नगरपालिका–३ स्थित घोसाखानी आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत खिम विकले बताए ।

प्रदेशसभा सदस्यका लागि १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी उम्मेदवार छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि नेकपाबाट ढालप्रसाद शेरचन, काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुने क्षेत्रमा ३५ हजार १८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार ७४२ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

चितवन : जिल्लाका उपनिर्वाचन हुने तीन वडामा आज बिहान ७ बजेबाट मतदान शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ एवं ५ मा मतदान शुरु भएको जानकारी दिए । निर्धारित समयमै ती वडाका मतदान केन्द्रमा मतदान कार्य शुरु भएको उनले जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा छ मतदानस्थल र १५ केन्द्र रहेका छन् । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् । जिल्लाका मतदानस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । मतदान केन्द्रमा सिसी क्यामेरासमेत जडान गरिएको छ । ती वडामा प्रवेश गर्ने नाकामा सुरक्षाकर्मी बसेर सुरक्षा जाँच गरिरहेका छन् । जिल्लाका तीन वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । सवारी दुर्घटनामा खैरहनीका वडाध्यक्षको निधन भएको र भरतपुर–१६ का वडाध्यक्षको अर्बुद रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

घोराही : दाङमा उपनिर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नं ३ (ख) र घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारीरहने छ । मतदान सकिएलगत्तै आज बेलुकीबाटै मतगणना गरिने मुख्य निर्वाचनको कार्यालय जनाएको छ ।

मतगणनाको लागि पनि सम्पूर्ण तयारी पूरा गरिसकेको हुँदा दलसँगको सहमतिमा दाङ देउखुरी जिल्ला अदालतको कार्यालयमा आज बेलुकाबाटै मतगणना गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका–१६ को मतदान निर्वाचन कार्यालयको नजिक भएको हुँदा पनि छिट्टै मतगणनाको लागि कुनै समस्या नभएको उनको भनाइ थियो ।

“राजनीतिक दलका बीच दलीय सहमति भए घोराही–१६ को उपनिर्वाचनको मतगणना आजबाटै सुरु हुन्छ”, उनले भने, “तत्काल गणना शुरु गर्दा प्रक्रिया सहज हुने र भोलिपल्ट गर्दा झन्झटिलो हुने हुँदा दलहरुको सहमतिमा आजबाटै मतगणना शुरु गर्ने तयारीमा रहेका छाैँ ।” घोराही उपमहानगरपालिका–१६ सदरमुकाम नजिकै भएकाले मतपेटिका समयमै सङ्कलन हुने हुँदा तत्काल गणना सम्भव भएको निर्वाचन अधिकृतले बताए ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–१६ को मतगणना दाङ देउखुरी जिल्ला अदालतको परिसरभित्र गरिने व्यवस्था मिलाइएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं ३ (ख) को मतगणना भने आइतबार बिहानदेखि गरिने भएको छ ।

उक्त क्षेत्रका केही मतदानस्थल विकट क्षेत्रमा रहेका कारण मतपत्र ल्याउन समय लाग्ने भएकाले प्रदेशसभाको मतगणना आइतबार गर्ने व्यवस्था मिलाइएको रिजालले बताउनुभयो । प्रदेशसभाको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने भएको छ ।

उपनिर्वाचनका लागि जिल्लाका ३४ निर्वाचनस्थल तथा ८२ मतदानकेन्द्र तोकिएका छन् । निर्वाचनका लागि ७३६ कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं ३ (ख) मा ६८ हजार ७१९ र घोराही उपमहानगरपालिका–१६ मा चार हजार ४५३ मतदाता छन् ।
रासस