११ बैशाख २०८१, मंगलवार
Follow Us

महरालाई छुटाउन रोशनी उच्च अदालतमा

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७६, बुधबार ०१:४८

काठमाडौं । बलात्कार प्रयासको अभियोगमा जेलमा रहो पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी छन् । जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले दुई दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

जिल्लाको आदेशविरुद्ध महरा पनि उच्च अदालत गएका छन् । सुनुवाईको क्रममा रोशनीले समेत निवेदन दिएकी हुन् । उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छन् ।

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध आज इजलासमा निवेदन दिन पुगेकी छन् । रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन भोलि इजलासमा पेश हुनेछ ।

दाहालले जाहेरीकर्ता स्वयं आदेशविरुद्ध निवेदन दिन आएका कारण अदालत प्रशासनले दर्ता अस्वीकार गरेको बताउँछन् ।दरपीठविरुद्धको निवेदनलाई इजलासले बदर गरे रोशनीको निवेदन उच्च अदालत पाटनमा दर्ता हुनेछ ।