११ बैशाख २०८१, मंगलवार
Follow Us

मानवसाङ्लोमा घेरियो भैरहवाको युनिभर्सल मेडिकल कलेज 

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७६, बुधबार ०८:०७

भैरहवा । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले मानवसाङ्लो बनाई कलेज परिसर घेराबन्दी गरेका छन् । आज प्रथम वर्षको बोर्ड परीक्षा सुरु भएकै दिनबाट उनीहरूले परीक्षालाई पुर्ण बहिष्कार गर्दै ‘पेन डाउन’ सम्मको आन्दोलन गरेर कलेज परिसरमा घेराबन्दी गरेका हुन् ।

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरू राख्दै विगत ३४ दिनदेखि विद्यार्थीहरु आन्दोलनरत छन् । साथै रिले अनसन बस्न लागेको पनि २० औं दिन पूरा भैसकेको छ । बुधबार मात्रै एक अपिल जारी गर्दै कलेजले सेतो एप्रोन लगाएका विद्यार्थीहरुलाई आन्दोलन गर्नु शोभनीय नभएको र जीवनको महत्त्वपूर्ण वर्ष गुमाउन लागेको भन्दै चेतावनीमुलक अपिल गरेको थियो ।

यतिमात्र नभएर सबै विद्यार्थीका अभिभावकहरुलाई व्यक्तिगत फोन गर्दै डर, त्रास, धम्की दिनेदेखि प्रलोभन देखाएर आन्दोलन स्थगित गर्न भन्दै दबाब दिइरहेकाे एक विद्यार्थीले बताए । ‘विद्यार्थीलाई सबै साम, दाम, दण्ड भेद लगाएर आन्दोलन निस्तेज पार्न प्रशासन लागिपरेको छ, तर हामी सबै विद्यार्थीको एउटै माग छ- अतिरिक्त शुल्क सबैको फिर्ता गर,’ उनले भने ।

मेडिकल कलेजहरुले लिने गरेको अतिरिक्त शुल्कका विषयलाई लिएर मन्त्रिपरिषद्ले समेत सुचना निकालेको छ । केही दिनअगाडि गत आर्थिक वर्ष र अहिलेको पैसा फिर्ता गर्न भन्दै बिडिएस र एमबिबिएसका विद्यार्थीलाई मात्रै लक्षित गरेर सूचना पठाए पनि त्यसमा विद्यार्थी सन्तुष्ट छैनन्, त्रिपक्षीय छलफल नभैइ, मेडिकल काउन्सिल र सरकारका स्वार्थअनुकुल हुने गरी निर्णय भएको र विद्यार्थीको हितअनुकुल नभएको भन्दै निर्णय प्रति नै जलाएर बिरोध गरेका थिए ।

केही समय अगाडिदेखि अवैध रकम असुलेका कलेजहरुलाई रकम फिर्ता गर्न सरकारले निर्देशन दिए पनि कलेजहरुले आनाकानी गर्दै आएका छन् । फरक-फरक कलेजमा झन्डै १० देखि ४० लाखसम्म विभिन्न बहानामा अतिरिक्त शुल्क उठाउने गरेको विद्यार्थीको गुनासो छ ।