६ बैशाख २०८१, बिहीबार
Follow Us

मेलम्ची खानेपानी निर्माणको काम ९५ प्रतिशत सकियो

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७३, शुक्रबार ०७:०८

काठमाडौं । आगामी असोजअघि काठमाडौंमा मेलम्चीको खानेपानी आइपुग्ने भएको छ । संसदको विकास समितिले केन्द्र निर्माणस्थल सुन्दरीजलमा गरेको अनुगमनको क्रममा आगामी असोजसम्म मेलम्चीको पानी काठमाडौं आइपुग्ने जानकारी मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीहरुले दिएका हुन । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्चीको पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले अहिले काठमाडौंमा मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याइरहेको पाइप र पानीपोखरी निर्माणको काम गरिरहेको छ । निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याउनुपर्ने ६ सय ७० किमी पाइपलाइनमध्ये ४ सय १९ किलोमिटरको काम सकिएको छ । आगामी असोजअघि नै पाइपलाइन बिछ्याउने र उपत्यकामा नौ वटा पानीपोखरी निर्माण सम्पन्न गर्ने गरी काम भैरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सिन्धुपाल्चोक, हेलम्बु गाविसस्थित मेलम्ची खोलाबाट २७ किमी सुरुङमार्ग हुँदै दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने सरकारको योजना छ । हालसम्म २१ दशमलव एक नौ चार किलोमिटर सुरुङ निर्माण भइसकेको र ६ दशमलव तीन नौ किलोमिटर निर्माण बाँकी रहेको आयोजनाले जनाएको छ । विक्रम संवत दुइ हजार ७४ को बडादसैँअघि नै मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने आयोजनाको लक्ष्य छ ।